सम्पत्ति छानबिन आयोगलाई ओलीको चुनौती: ‘बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ’

२० जेष्ठ २०८३, बुधबार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहबाट प्रेरित भएर अघि बढिरहेको आरोप लगाएका छन्।बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारले सम्पत्ति छानबिनका नाममा निश्चित व्यक्ति र पुराना राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूलाई मात्रै निशाना बनाउन खोजेको दाबी गरे। उनले नयाँ शक्ति र नेपाली सेनासँग सम्बन्धित सम्पत्तिको छानबिन नगर्ने नीति सरकारले लिएको आरोपसमेत लगाए।

ओलीले सम्पत्ति छानबिन आयोग गठन गरेर राज्यले छानिछानी व्यक्तिहरूलाई फसाउन खोजेको भन्दै यस्ता आयोगलाई आफूले नमान्ने बताए। उनले आयोगले बयानका लागि बोलाए पनि आफू उपस्थित नहुने र सम्पत्ति विवरणसमेत पेश नगर्ने चेतावनी दिए।

‘अरूले बयान दिए पनि मचाहिँ बयान दिन्नँ। सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस्। यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो’ उनले भने।

उनले राज्यका निकायहरू प्रतिशोधको भावनाबाट प्रेरित नभई संवैधानिक दायित्वअनुसार सञ्चालन हुनुपर्ने धारणा राखे। यस्ता गतिविधिले लोकतान्त्रिक प्रणाली र विधिको शासनलाई कमजोर बनाउने जिकिर गर्दै उनले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर संविधानअनुकूल काम गर्न सुझाव दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*