विरोधको दबाबमा सरकारको निर्णय सच्याइयो, अब ५०० रुपैयाँसम्मका वस्तुमा महसुल नलाग्ने

काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा बढाएको छ। यसअघि १०० रुपैयाँसम्म कायम रहेको छुट सीमा बढाएर ५०० रुपैयाँ पुर्याइएको हो।
राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुले ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार महसुल लाग्ने प्रावधान रहेको थियो। उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै सर्वसाधारण, व्यवसायी तथा विभिन्न सरोकारवाला पक्षबाट व्यापक आलोचना र विरोध हुँदै आएको थियो। सीमावर्ती क्षेत्रमा दैनिक आवतजावत गर्ने नागरिकलाई समेत यस व्यवस्थाले अनावश्यक झन्झट सिर्जना गरेको भन्दै सरकारमाथि सीमा पुनरावलोकन गर्न दबाब बढेको थियो।
सरकारले सार्वजनिक आलोचना र व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै छुट सीमा बढाएको हो। नयाँ व्यवस्थासँगै सीमावर्ती नाकाबाट यात्रा गर्ने सर्वसाधारणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि यसअघि कायम रहेको सहुलियतलाई निरन्तरता दिइएको छ। विद्यार्थीहरूले आफ्नो व्यक्तिगत प्रयोगका लागि ल्याउने ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल भित्र्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था यथावत् राखिएको छ।












