शेयर बजारमा हरियालीको संकेतः कारोबार समेत बढ्यो, के छन् बढ्ने आधार ?

२० जेष्ठ २०८३, बुधबार १५:११

काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएपछि शेयर बजारमा सुरुमा देखिएको दबाब क्रमशः कम हुँदै गएको देखिएको छ । बजेटपछि पहिलो कारोबारको दिन बजार घटे पनि त्यसपछिका दुई कारोबार दिनमा भने सामान्य सुधार देखिएको छ । यससँगै लगानीकर्ताको मनोबल पनि विस्तारै सुधार हुँदै गएको संकेत देखिन्छ ।

बजेटमा सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्दै आएको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा आएको परिवर्तनले प्रारम्भिक चरणमा लगानीकर्तालाई केही राहत दिएको थियो । तर करको सीमा बढाइएपछि देखिएको अस्पष्टता र अनिश्चितताका कारण बजारमा पुनः दबाब सिर्जना भएको छ । यही कारण लगानीकर्तामा पुनः शंका बढ्दै गएको देखिन्छ ।

साउनदेखि नयाँ कर नीति लागू हुने आशंकाले धेरै लगानीकर्ता सुरक्षित रणनीतिमा सरेका छन् । सम्भावित कर संरचनाको प्रभावलाई ध्यानमा राख्दै उनीहरू बिक्रीतर्फ बढी सक्रिय भएको देखिन्छ, जसले बजारमा आपूर्ति बढाएर मूल्यमा दबाब सिर्जना गरेको हो । यद्यपि पछिल्ला दिनमा देखिएको सुधारले बजार केही स्थिरतातर्फ उन्मुख भएको संकेत पनि दिएको छ ।

बजेटले पूँजी बजारलाई व्यवस्थित र लगानीमैत्री बनाउने उद्देश्यसहित नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री कारोबार प्रणाली विकास गर्ने तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । यसले दीर्घकालमा बजारको संरचनागत सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना अघि बढाउँदै इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभजस्ता नयाँ उपकरणहरू क्रमशः लागू गर्ने योजना पनि बजेटमा समेटिएको छ । साथै शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङजस्ता अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति, विदेशी बजारमा सूचीकृत हुन ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने व्यवस्था, तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी सुधारजस्ता प्रस्तावहरूले बजार विस्तार र पारदर्शितामा जोड दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६६ अकंले बढेर २७८०.२५ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा सुधार देखिएको छ । बुधबार १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*