भारतबाट ५ सय रुपैयाँसम्मको सामान ल्याउदा भन्सार तिर्नु नपर्ने

काठमाडौं । सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको मूल्य ५ सय पुर्याएको छ ।
यसअघि १ सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम रहेकोमा नयाँ आर्थिक विधेयकले त्यसमा संशोधन गरी ५ सय पुर्याएको हो ।
यसअघि सीमानाकामा सर्वसाधारणले १ सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा सरकारले समातेर भन्सार तिराउन थालेपछि देशव्यापी विरोध भएको थियो । सरकारले यो बजेटमार्फत यो सीमालाई बढाएको छ ।
साथै भारतमा अध्ययन गर्ने विद्यार्थीलाई साथमा लगेको वा ल्याएको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था पनि गरिएको छ ।
सरकारले नेपाली यात्रुले यात्रा गर्दा ल्याउन–लैजान पाउने सामानबारे नयाँ सूची सार्वजनिक गरेको छ । जसमा अधिकांश वस्तु गत वर्षकै दोहोरिएका छन् । केही वस्तु र सीमामा भने फेरबदल गरिएको छ ।












