उच्चस्तरीय वार्ताका लागि परराष्ट्रमन्त्री शिशिर खनाल जेठ २२ गते भारत जाँदै

२१ जेष्ठ २०८३, बिहीबार १७:१०

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशङ्कर को सौहार्दपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको उक्त भ्रमणले दुई देशबीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मन्त्री खनालको भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो।

भ्रमणका क्रममा मन्त्री खनालले भारतको राजधानी नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताका क्रममा नेपाल र भारतबीचको आपसी हित, साझा चासो तथा सहकार्यका विविध विषयमा विस्तृत छलफल हुने मन्त्रालयले जनाएको छ।

दुई पक्षबीच विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहकार्य तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर वार्ता हुने अपेक्षा गरिएको छ। साथै द्विपक्षीय सहयोगका विद्यमान संयन्त्रलाई थप प्रभावकारी बनाउने, आपसी समझदारीलाई नयाँ उचाइमा पुर्‍याउने तथा विकास साझेदारीलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ।

नेपाल र भारतबीचको पारम्परिक मित्रता, आर्थिक साझेदारी र क्षेत्रीय सहकार्यलाई थप गतिशील बनाउने उद्देश्यसहित हुन लागेको यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। मन्त्रालयका अनुसार भ्रमणका सम्पूर्ण कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्किने तालिका रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*