वाणिज्य विभागको छापा: ९ व्यवसाय कारबाहीमा, काठमाडौं फन पार्कलाई २ लाख जरिवाना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गरी ६ वटा फर्मलाई जरिवाना तथा ३ वटा फर्मलाई निर्देशन दिएको छ।
विभागले बिहीबार (जेठ २१ गते) गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३१ भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
विभागका अनुसार शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ, नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ तथा पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै, काठमाडौं महानगरपालिका–७ चावहिलस्थित मोबडिल्ज र महानगरपालिका–१० बुद्धनगरस्थित गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा भिमसेनगोलास्थित गर्ल्स क्लोजेट प्रालि, चावहिलस्थित रुम्बा कलेक्सन तथा नाचघर गल्लीस्थित डेलिसियस मःम पसललाई भने आवश्यक सुधार गर्न निर्देशन दिइएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न उद्योग, व्यवसाय तथा फर्महरूको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही तथा निर्देशन गरिएको हो।












