ढुङ्गे अड्डामा विशेष चेकिङ : २५ मध्ये १७ सवारी साधनमा यान्त्रिक कमजोरी

काठमाडौँ । काठमाडौंको ढुङ्गे अड्डा नजिक गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १७ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
कूल २५ वटा सवारी साधनको चेकजाँच गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू ठीक अवस्थामा नरहेका, टायर अत्यधिक खिइएका तथा समग्र यान्त्रिक अवस्था कमजोर भएका १७ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो।
अवस्था ठीक नभएका सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन उच्च जोखिममा पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न विशेष चेकिङ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सो क्रममा ढुङ्गे अड्डा आसपासको क्षेत्रमा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको थियो।
काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका सूचना अधिकारी नरेश राज सुवेदीले पनि यान्त्रिक अवस्था ठीक नभएका सवारीलाई कारबाही भइरहेको बताए । पछिल्लो समय ट्राफिक प्रहरीले सवारीमा यान्त्रिक अवस्था ठिक भए नभएको कुरा जाँच गर्ने गरेको उनले बताए ।
यसैबीच काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले सबै यातायात व्यवसायी, सवारी धनी तथा चालकहरूलाई आफ्नो सवारी साधनको अवस्था नियमित रूपमा जाँच गरी आवश्यक मर्मत सम्भार गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ।












