ईभी बीमा दाबी विवाद व्यवस्थापनबारे नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनको विशेष तालिम हुने

काठमाडौँ । नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनले विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी बीमा दाबी विवादहरूको प्रभावकारी व्यवस्थापन तथा नवीन प्रवृत्तिबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले “Handling EV Claims Disputes: Current Challenges & Emerging Trends” विषयक विशेष तालिम कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम जेठ ३१ गते आइतबार दिउँसो १:०० बजेदेखि ५:०० बजेसम्म ललितपुरस्थित होटल कुटुम्ब, मैत्री मार्गमा सञ्चालन हुनेछ। तालिम पश्चात सहभागीहरूका लागि हाई टीको समेत व्यवस्था गरिएको छ। उक्त तालिममा विद्युतीय सवारी साधन विश्लेषक, सर्भेयर तथा लस एसेसर एवं विद्युतीय इन्जिनियर इ. प्रेमलाल तामाङले प्रशिक्षण प्रदान गर्नेछन्।
तालिममा ईभी बीमा दाबीका क्रममा देखिने प्राविधिक जटिलता, विवाद समाधानका उपाय, ब्याट्री तथा विद्युतीय प्रणालीको क्षति मूल्याङ्कन, तथा अन्तर्राष्ट्रिय अभ्यासलगायत समसामयिक विषयहरू समेटिने जनाइएको छ। कार्यक्रममा अधिकतम २५ जना सहभागीको मात्र सहभागिता रहने व्यवस्था गरिएको छ।
इच्छुक व्यक्तिहरूलाई समयमै दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनले आग्रह गरेको छ। तालिम शुल्क इन्स्योरेन्स सर्भेयर्स एसोसिएसन सदस्यहरूका लागि ३,००० तथा गैर-सदस्यहरूका लागि ५,००० निर्धारण गरिएको छ। थप जानकारीका लागि इन्स्योरेन्स सर्भेयर्स एसोसिएसन कार्यालय (९८५१४५५४००) वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ। नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढिरहेको वर्तमान सन्दर्भमा EV बीमा दाबी व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्न यो तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।












