हराएको सिमबाट मोबाइल बैंकिङ चलाएर कसरी भयो २४ लाख ठगी ?

२२ जेष्ठ २०८३, शुक्रबार १०:५९

काठमाडौँ । हराएको सिमकार्ड पुनः आफ्नो नाममा जारी गराएर मोबाइल बैंकिङको दुरुपयोग गर्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सिन्धुलीको फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्दै आएका २६ वर्षीय रोशन पहाडी र डडेल्धुराको अमरगढी नगरपालिका–८ घर भई हाल ललितपुरको कुपण्डोलमा बस्ने २५ वर्षीय सुभाष ओझालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पहाडीलाई भक्तपुरको सल्लाघारी र ओझालाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको जनाएको छ।

अनुसन्धानका क्रममा पीडित कान्छी लामाको नाममा २०७० असोज २ गते जारी भएको मोबाइल नम्बर नै ठगीको माध्यम बनेको खुलेको छ। लामाले त्यही नम्बर प्रयोग गरी तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोलेर मोबाइल बैंकिङ सेवा सञ्चालन गरिरहेकी थिइन्। तर, करिब छ वर्षपछि उनको सिमकार्ड हराएको थियो।

प्रहरीका अनुसार उक्त नम्बर २०७८ चैत १२ गते रोशन पहाडीको नाममा पुनः जारी भएको देखिएको छ। सिम सक्रिय भएपछि लामाको बैंक खातासँग सम्बन्धित रकम जम्मा तथा अन्य कारोबारका सन्देशहरू पहाडीको मोबाइलमा आउन थालेका थिए। त्यसपछि पहाडी र ओझाले मिलेर सोही नम्बर प्रयोग गरी मोबाइल बैंकिङ सेवा पुनः सञ्चालन गरेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पार्दै पीडितको खातामा रहेको रकम विभिन्न डिजिटल वालेट र बैंक खाताहरूमा स्थानान्तरण गराएको प्रहरीले जनाएको छ। रकम ईसेवा, खल्ती लगायतका माध्यमबाट विभिन्न खातामा पठाई अन्ततः झिक्ने गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार २०८० असार २० गतेदेखि २०८२ असोज ९ गतेसम्मको अवधिमा मोबाइल बैंकिङको दुरुपयोग गरी कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ हिनामिना गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*