राष्ट्र बैंकद्वारा २०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाहरूसँग राय तथा सुझाव माग गरेको छ।
केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक राय तथा सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुअघि सरोकारवालाहरूसँग सुझाव संकलन गर्ने प्रचलनअनुसार यस पटक पनि प्रक्रिया अघि बढाएको जनाएको छ।
बैंकका अनुसार इच्छुक व्यक्ति, उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ–संस्था तथा अन्य सरोकारवालाहरूले आगामी २०८३ असार ५ गतेभित्र आफ्ना राय तथा सुझाव पेश गर्न सक्नेछन्।
सुझावहरू राष्ट्र बैंकको बालुवाटारस्थित आर्थिक अनुसन्धान विभागमा प्रत्यक्ष रूपमा बुझाउन सकिनेछ भने इमेलमार्फत [email protected] मा पनि पठाउन सकिने विभागले जनाएको छ।













