प्राकृतिक प्रकोपबाट विस्थापितलाई आइजीआई प्रुडेन्सियलको सहयोग

२९ जेष्ठ २०८३, शुक्रबार १३:२०

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानमा प्राकृतिक प्रकोप तथा आगलागीका कारण विस्थापित ५६ घर परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सहयोग गरेको छ।

कम्पनीले कालिकोटको शुभकालिका गाउँपालिकाका वडा नम्बर २, ३, ७ र ८, महावै गाउँपालिकाका वडा नम्बर १ र ५, खाँडाचक्र नगारपालिकाका वडा नम्बर १, ५ र १०, तिलागुफा नगरपालिकाका वडा नम्बर ५, ६, ७ र १० का पूर्ण रूपमा विस्थापित ५७ घर परिवारलाई सहयोग गरेको हो।

त्यहाँ प्राकृतिक प्रकोप र आगलागीबाट विस्थापित भएका घरपरिवारको आर्थिक अवस्था नाजुक भएको र हालसम्म कुनै ठोस सहायता वा राहत उपलब्ध नभएको भनी कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रबाट अनुरोध भएपछि सहयोग गरिएको जनाएको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षति भएका विस्तापित परिवारलाई १० लाख रुपैयाँ बराबरको ३२ थान सिरक खरीद गरी काठमाडौंको पानीपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग सामग्री हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। श्रेष्ठले उक्त अवसरमा प्राकृतिक विपदबाट क्षति भई विस्तापित भएका परिवारलाई सहयोग गर्न कम्पनीसँग सहकार्य गरेकोमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई धन्यवाद व्यक्त गरे।

साथै सीईओ श्रेष्ठले प्राकृतिक विपदबाट पीडितहरूको शीघ्र पुनस्र्थापनाका लागि भविष्यमा पनि आवश्यक परेको खण्डमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*