नेपाल रिको ६५% सर्वसाधारण शेयर माफियाको कब्जामा, यसरी भएको थियो चलखेल

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको आरोपत्रमा नेपाल रि इन्स्योरेन्स कम्पनीको ६५.२५ प्रतिशत सर्वसाधारण शेयर कब्जा गरेर कृत्रिम मूल्य बढाएको उल्लेख गरिएको छ।
नेप्सेमा नेपाल रिको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १३ करोड ४२ लाख २१ हजार ८७१ कित्ता शेयर सूचीकृत छ। जसमध्ये ८४ प्रतिशत अर्थात ११ करोड २७ लाख ४६ हजार ३७२ कित्ता संस्थापक शेयर र १६ प्रतिशत अर्थात् २ करोड १४ लाख ७५ हजार ४९९ कित्ता सर्वसाधारण शेयर रहेको छ।
नेपाल प्रहरीको सीआईबीलाई नेपाल रिको शेयर रजिष्ट्रारले पठाएको विवरणमा सर्वसाधारण शेयरमध्ये १० हजार कित्ता शेयरभन्दा बढी होल्ड गर्ने व्यक्ति/संस्थाको सूची अनुसार ७९ जना व्यक्ति वा संस्थाको ९६ लाख ६२ हजार ४१७ कित्ता अर्थात् ४५ प्रतिशत शेयर होल्ड गरेको देखिएको छ।
त्यसबाहेक ५५ प्रतिशत हिस्सा १० हजार कित्ताभन्दा साना लगानीकर्ता र आईपीओमा शेयर पाएका व्यक्तिहरूमा रहेको पाइएको छ। शुरुमा आईपीओ निष्काशन गर्दा ठूलो संख्यामा छरिएका अधिकांश ४० कित्ता होल्ड गर्ने शेयरधनीहरू शेयर बजारमा सक्रिय रूपमा सहभागी नहुने हुँदा त्यस्ता व्यक्तिको बिक्रीको चाप नपर्ने सोचेर आरोपीहरूले नेपाल रिको शेयर कब्जा गरेर नाफा खाने उद्देश्यले योजना बनाएरै काम गरेको अनुसन्धानमा खुलेको छ।
आरोपी समूहले २०८१ साल पुष महीनादेखि हालसम्म १ करोड ४० लाख १३ हजार ३५२ कित्ता शेयर खरीद गरी नेपाल रिको ६५.२५ प्रतिशत शेयर नियन्त्रण एवं केन्द्रीकरण गरेको अनुसन्धानमा देखिएको छ। नेपाल रिको कमजोर लाभांश क्षमता, ईपीएसमा आएको लगातारको गिरावटका साथै साधारणसभा समेत गर्न नसकेको अवस्थामा चलखेल गर्ने उद्देश्यले ठूलो शेयर कब्जामा लिएर कृत्रिम रूपमा मूल्य बढाएको पाइएको छ।
यसमा पूँजी वृद्धिको निर्णय सार्वजनिक गर्ने सम्मका कार्य नियामक एवं स्वयं नेपाल रि समेतले गरेको देखिएबाट यस कम्पनीको ठूलो हिस्सा शेयर कब्जा गर्न सहयोग पुर्याएर माफियाहरूको योजना सफल बनाउनमा नेपाल रि समेत जिम्मेवार रहेको देखिएको छ। जसबाट आरोपी शुलभ अग्रवाल र दीपक भट्ट समेतका गिरोहले कृत्रिम मूल्य खडा गरेको र सो अवधिमा कम्पनीको भोल्यूम पनि उल्लेखनीय बढेको आरोपत्रमा उल्लेख छ।
यसमा शेखर गोल्छा, रोहित मोर तथा राजबहाुदर शाह समेतले भट्ट र अग्रवाल समेतको मिलेमतोमा गोल्छा र मोर तथा शाहले ५२ करोड ५० लाख रुपैयाँका दरले भृकुटी स्कट ब्रोकिङ्ग प्रा.लि मा रकम जम्मा गरी नेपाल रिको शेयर कब्जा गरेको खुलेको छ। गोल्छाले बयान दिंदा भृकुटीमा आफ्नो डिम्याट समेत नरहेको बताए पनि उक्त ब्रोकरको अध्यक्षसँग पूर्व चिनजान रहेको र गोल्छा र रोहित गुप्ता हिमालयन रिको अध्यक्ष एवं सञ्चालक रहेकाले नेपाल रिको शेयर सोझै किन्न नमिल्ने हुँदा तेस्रो पक्ष राज बहादुर शाहको नाममा निजहरूले नै शेयर किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ।












