पुँजी बजार निरन्तर सुस्तः कारोबार साढे ३ अर्बमा सीमित, किन छ डरको वातावरण ?

४ असार २०८३, बिहीबार १५:०५

काठमाडौँ । पछिल्ला दिनमा नेपाली शेयर बजार निरन्तर दबाबमा देखिएको छ । बजार सूचक लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको हो । कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएपछि बजारमा सहभागिता घट्दै गएको संकेत स्पष्ट देखिन्छ । यस अवस्थाले समग्र पूँजी बजारमा निराशाको वातावरण सिर्जना गरेको छ ।

बजारमा देखिएको गिरावटसँगै लगानीकर्ताको मनोबल पनि कमजोर बन्दै गएको छ । ठूलो मात्रामा पूँजी गुमेको अनुभव गरेका साना तथा मझौला लगानीकर्तामा अनिश्चितता बढेको छ । लगातारको रातो सूचकले दीर्घकालीन लगानीभन्दा तत्काल नाफा सुरक्षित गर्ने प्रवृत्तिलाई थप बल दिएको विश्लेषण गरिएको छ ।

राजनीतिक नेतृत्व परिवर्तनपछि बजारमा सुधारको अपेक्षा गरिएको भए पनि त्यसअनुसारको नतिजा नदेखिँदा विश्वास पुनः स्थापित हुन सकेको छैन । नीतिगत सुधारका प्रयासहरू भए पनि तिनको प्रभाव बजारमा तत्काल देखिन नसक्दा लगानीकर्तामा धैर्य घट्दै गएको छ । यसले बजारमा स्थायित्व ल्याउने प्रयासलाई चुनौती थपेको छ ।

यता, ठूला लगानीकर्ताहरू क्रमशः बजारबाट बाहिरिने प्रवृत्तिले पनि दबाब बढाएको छ । नाफा सुरक्षित गर्ने उद्देश्यले बिक्री चाप बढ्दा आपूर्ति उच्च भई मूल्यमा थप गिरावट आएको देखिन्छ । यसले बजारलाई थप अस्थिर बनाउँदै कारोबार गतिविधि कमजोर बनाएको छ ।

कर प्रणाली, पुँजीगत लाभकर तथा नियामक नीतिसम्बन्धी अस्पष्टताले पनि बजारमा अनिश्चितता बढाएको छ । नियामक निकायहरूको कडाइ र पछिल्ला अनुसन्धान तथा कारबाहीका घटनाले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ । यसको प्रत्यक्ष असर कारोबार रकम र नयाँ लगानी प्रवाह दुवैमा देखिन थालेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७०० बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

८ उपसूचक घटेको छ भने ५ उपसूचकमा सुधार देखिएको छ । बिहिबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*