अमेरिकी कार्यवाहक राजदूत र कानूनमन्त्री गौतमबीच शिष्टाचार भेट

४ असार २०८३, बिहीबार १६:२३

काठमाडौं । नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कोट अर्बमले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा भएको उक्त भेटवार्तामा द्विपक्षीय सहयोग, कानूनी सुधार तथा लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने प्रयासप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । उनले यस्ता सुधारले अमेरिकी तथा अन्य विदेशी कम्पनीहरूलाई नेपालमा लगानी गर्न थप उत्साहित बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायता सम्बन्धी विषयमा आवश्यक पूर्वतयारी मन्त्रालयबाट पूरा भइसकेको जानकारी दिँदै उक्त प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले दुई देशबीच न्यायिक तथा कानूनी सहकार्य विस्तार गर्न नेपाल तयार रहेको सन्देश पनि दिएकी छन् ।

भेटमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकाससँग सम्बन्धित कानूनी सुधारका विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले समयानुकूल कानुन निर्माणमार्फत यी क्षेत्रलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका छन् ।

त्यसैगरी, न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले देशका तीनै तहका कानुनलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने गरी गरिरहेको डिजिटाइजेसन कार्यबारे मन्त्री गौतमले जानकारी दिइन् । उनले कानूनी सेवा डिजिटल रूपान्तरणमार्फत नागरिकलाई सहज र छरितो सेवा दिने लक्ष्य रहेको उल्लेख गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*