भन्सार जाँचपास प्रकरणः रसुवागढी भन्सारका प्रमुखसहित १३ कर्मचारी निलम्बित

४ असार २०८३, बिहीबार १८:२६

काठमाडौँ । रसुवागढी भन्सार नाकामा भौतिक रूपमा नआएका सवारीसाधनको समेत भन्सार जाँचपास गरिएको प्रकरणमा अर्थ मन्त्रालयले १३ जना कर्मचारीलाई निलम्बन गरेको छ।

भन्सार प्रणालीमा केही विद्युतीय सवारीसाधन अस्वाभाविक रूपमा दर्ता भएको तथा केही गाडी नाकामा नपुग्दै जाँचपास प्रक्रिया सम्पन्न गरिएको भेटिएपछि शुरु गरिएको छानबिनका क्रममा उनीहरूलाई निलम्बन गरिएको हो।

यसअघि गत जेठ २० गते रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारीलाई अनुसन्धानका लागि काठमाडौंस्थित भन्सार विभागमा तानिएको थियो। विभागले प्रज्ञापनपत्र, गेटपास अभिलेख, सीसीटीभी फुटेज, यार्डमा रहेका सवारीसाधनको अवस्था तथा जाँचपास प्रक्रियासम्बन्धी कागजातहरूको विस्तृत अध्ययन गर्दै आएको थियो।

छानबिनको दायरामा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, अधिकृत ठाकुर गौतम, खड्गबहादुर माझी, कम्प्युटर अधिकृत सबिना अधिकारी, प्रकाश पुडासैनी, नायब सुब्बा तेजबहादुर बल, भन्सार अधिकृत बुद्धि चुडाल तथा नासु लोकेन्द्र बम र सुनिल गौतमलगायत कर्मचारी परेका थिए। अनुसन्धान अघि बढ्दै जाँदा उपसचिव तहका कर्मचारीसहित एकैपटक १३ जनालाई निलम्बन गरिएको हो।

निजामती सेवा ऐनअनुसार कुनै कर्मचारीमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धानका लागि आवश्यक ठहरिएमा जाँचबुझ सम्पन्न नहुन्जेल निलम्बन गर्न सकिने व्यवस्था छ। अनुसन्धानलाई प्रभावित पार्ने, प्रमाण नष्ट गर्ने वा सरकारी हितमा असर पुग्ने सम्भावना देखिएमा सम्बन्धित कर्मचारीलाई जिम्मेवारीबाट अलग राख्न सकिने कानुनी प्रावधानअनुसार निलम्बन गरिएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*