एक–एक घण्टामा नेप्से इन्डेक्स तल जान्छ कि माथि हेर्दैनौंः अर्थमन्त्री वाग्ले

५ असार २०८३, शुक्रबार १३:०९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक–एक घण्टाको फरकमा नेपाल स्टक मार्केटको इन्डेक्स तल जान्छ कि माथि नहेरी युग युगका लागि हुने गरी दूरगामी कार्यमा आफूहरूले ध्यान दिइरहेको बताएका छन्। उनले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।

“पूँजीबजार इत्यादिमा ठूलो विचलन आएको कुरा भर्खरै १ खर्बभन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ। त्यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केटहरू थिए। इन्स्योरेन्स, स्टक, सेक्युरिटिज यत्रो देश नै हल्लाउने विचलन, भित्रभित्रै मक्किसकेको कुरालाई हामीले ट्र्याकमा ल्याउँदैछौं।” उनले भनेका छन्।

“यो अनुसन्धानको दायरा बढ्दै जाँदाखेरी म पनि पर्छु कि, हामी पनि तानिन्छौं कि भन्ने भय, त्रास केही लगानीकर्तामा भएको हुनसक्छ। त्यसैले गूड गभर्नेन्समा निर्मम ढंगले अगाडि बढ्दा विगतका १०/१५ वर्षका आचरणगत, नियतगत कुराहरूबाट केही लगानीकर्ताहरू ‘वेट एण्ड सी’ मोडमा हुनुहुन्छ तर बजेटको जुन लक्ष्य हो जुन दिशा तय भएको छ यसका प्रारम्भिक नतिजा आउन थालेपछि निजी क्षेत्र असाध्यै उत्साहित भएर अघि बढ्छ भन्नेमा हामी विश्वस्त छौं।” उनले भने।

“अहिले हामी ट्रस्ट डेफिसिट र क्राइसिस अफ कन्फिडेन्सको संक्रमणमा भएको हुनाले एउटा रेजिम चेन्ज नै भएको छ। नयाँ सरकार आएको भर्खरै दुई महीना पुगेको छ तर हामीले दिन खोजेको सन्देश गरिखाने वातावरण, इमान्दारपूर्वक राज्यलाई कर तिर्ने, फिल्डमा गएर सक्रिय उद्यम व्यवसाय गर्नै पात्रहरू यो सरकार र राज्यको सारथी हुन् सहयात्री हुन्। उहाँहरूलाई नै हौसला दिनका लागिग यो बजेट आएको छ। त्यसैले एक–एक घण्टामा स्टक मार्केटको इन्डेक्स तल जान्छ कि माथि जान्छ भनेर हेर्दैनौं हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं।”

“जुन देशको टप मार्जिनल इन्कम ट्याक्स ३९ प्रतिशत छ त्यहाँ कोही पनि लगानी गर्नै आउदैनन्। नर्वेको जस्तो ट्याक्स लिने हो भने पब्लिक सर्भिस सोमालियाको जस्तो नभई नर्वेकै जस्तो हुन पर्यो। शिक्षा स्वास्थ्य यातायात स्वच्छ हावापानी, पूर्वाधार दिन नसकेको अवस्थामा ट्याक्स रेट घटाउँदा दुईतीन वटा प्रत्यक्ष फाइदाहरू छन्। अहिले तिर्न सक्ने मानिसहरू पनि भागीभागी हिनेका छन्। ३९ प्रतिशतको कुरा छोडौं २९ प्रतिशतमा पनि मानिसहरू कर छली गरिरहेका छन्। अध्यननको आधारमा भन्दैछौं जति करको दर कम गर्यौं उती दायरा बढ्छ र नागरिकको स्वैच्छिक अनुपालनमा बढावा पुग्छ।” उनले अगाडी भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*