कार्यविधिको विपरीत जोरायल गाउँपालिकाले क्याम्पसमा एक वर्षमा ३९ लाख खर्च गरेको खुलासा

काठमाडौँ । डोटीको जोरायल गाउँपालिकाले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत वडा नं ४ मा रहेको घण्टेश्वर बहुमुखी क्याम्पसलाई आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा गरेको खर्च अनियमित देखिएको छ। महालेखापरीक्षकको प्रतिवेदनमा क्याम्पसमा गरिएको कुल ३९ लाख ७९ हजार ४५० बराबरको खर्च आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को प्रावधानविपरीत भएको उल्लेख गरिएको हो ।
नियमावलीको नियम ४१ अनुसार खर्चको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने तथा अन्य निकायको मातहत रहेको इकाइमा अनावश्यक रूपमा खर्च गर्न नपाइने स्पष्ट व्यवस्था भए पनि गाउँपालिकाले क्याम्पसलाई गाउँ सभाबाट बजेट स्वीकृत गरी विभिन्न निर्माण तथा सामग्री खरिदका शीर्षकमा रकम खर्च गरेको प्रतिवेदनमा जनाइएको छ। लेखापरीक्षणका क्रममा यस प्रकारको खर्च गाउँपालिकाको कार्यक्षेत्र बाहिर रहेको र नियमित गर्नुपर्ने प्रकृतिको देखिएको उल्लेख छ।
गाउँपालिकाले क्याम्पसलाई थप सुदृढ बनाउने तथा स्थानीय बासिन्दालाई स्नातक तहको अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले रकम उपलब्ध गराइएको दाबी गरेको छ। छलफलका क्रममा गाउँपालिकाले उक्त खर्चलाई शैक्षिक पूर्वाधार विकास र सहयोग स्वरूप गरिएको जनाएको भए पनि कानुनी तथा प्रक्रियागत आधारमा प्रश्न उठाइएको छ।
प्रतिवेदनअनुसार क्याम्पसका लागि विभिन्न शीर्षकमा खर्च गरिएको विवरणमा ७ रोपनी जग्गा खरिदमा १९ लाख २५ हजार खर्च भएको देखिन्छ। त्यस्तै भवन निर्माणका लागि माटो परीक्षण तथा डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गर्न १९ लाख ९४ हजार ४५० आरटिएस इन्जिनियरिङ कन्सलटेन्सी एण्ड कन्स्ट्रक्सनलाई भुक्तानी गरिएको छ।
यसैगरी पुराना फर्निचर शीर्षकमा ६ लाख बराबरको खर्च देखाइएको छ जसअन्तर्गत गाउँपालिकामा रहेका १ दराज, १ टेबल र १० प्लास्टिक कुर्सी खरिद तथा व्यवस्थापन गरिएको विवरण प्रतिवेदनमा समावेश छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले भने कार्यक्षेत्र बाहिर खर्च गरेको हुँदा महालेखाले प्रश्न उठाएको बताए । उनले भने, ‘गाउँसभाबाट पारित भएको कुरा हो । गाउँसभा पालिका भित्रको सरकार नै भयो । पालिका भित्रको एक मात्रै क्याम्पस भनेर खर्च गरेको हो । काम पनि सबै भइरहेको छ । रकम अनियमित भएको छैन ।’












