पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारद्वारा ७ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजनासँग सम्बन्धित लामो समयदेखिको विवाद र समस्या समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकासविज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई पाथीभरा मन्दिर जाने केबलकार निर्माणका विषयमा देखिएका विवाद तथा समस्या पहिचान गरी समाधानका लागि आवश्यक सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ।
सरकारले सबै सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ। कार्यदलमा संयोजक राईसँगै पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केबलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि तथा केबलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधिलाई सदस्य बनाइएको छ। त्यसैगरी गृह मन्त्रालयका एक उपसचिव र प्रधानमन्त्रीको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलका सदस्य रहेका छन्।
पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजनालाई लिएर स्थानीय समुदाय, आदिवासी जनजाति समूह तथा विभिन्न सरोकारवालाबीच लामो समयदेखि मतभेद र विरोध हुँदै आएको छ।












