कामना सेवा विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

५ असार २०८३, शुक्रबार १७:२३

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न प्रदेशका शाखाहरूका लागि शाखा प्रमुख (ब्राञ्च म्यानेजर) र रिलेसनसिप म्यानेजर पदमा कर्मचारी माग गरेको छ। बैंकले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशस्थित विभिन्न शाखामा काम गर्ने गरी गरी योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

शाखा प्रमुख पदका लागि जुनियर अफिसर, अफिसर तथा सिनियर अफिसर तहमा केही संख्यामा कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ। यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै न्यूनतम चार वर्षको बैंकिङ अनुभव र कम्तीमा दुई वर्ष शाखा प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव आवश्यक रहेको उल्लेख गरिएको छ।

त्यस्तै रिलेसनसिप म्यानेजर पदका लागि सुपरभाइजर तथा जुनियर अफिसर तहमा कर्मचारी माग गरिएको छ। यस पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक वा वित्तीय संस्थामा कर्जा बजार विस्तार, व्यवसायिक कर्जा व्यवस्थापन तथा ग्राहक सम्बन्ध व्यवस्थापन क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्नेछ।

बैंकका अनुसार दुवै पदका उम्मेदवारमा बिक्री तथा व्यवसाय विस्तार क्षमता, ग्राहक सम्बन्ध व्यवस्थापन, कर्जा विश्लेषण, जोखिम मूल्यांकन तथा नेतृत्व क्षमता हुनुपर्नेछ।

शाखा प्रमुख पदमा कार्यरत कर्मचारीले शाखाको व्यवसाय विस्तार, निक्षेप संकलन, कर्जा प्रवाह तथा कर्मचारी व्यवस्थापनको नेतृत्व गर्नुपर्नेछ भने रिलेसनसिप म्यानेजरले नयाँ ग्राहक विस्तार, कर्जा व्यवसाय वृद्धि र दीर्घकालीन व्यावसायिक सम्बन्ध विकासमा भूमिका निर्वाह गर्नुपर्नेछ।

उमेर हद सुपरभाइजर तहका लागि ३५ वर्ष र अफिसर तहका लागि ४० वर्ष तोकिएको छ। इच्छुक उम्मेदवारले बैंकको करियर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ असार १६ गते (३० जुन २०२६) तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*