ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २४ यात्रु घाइते

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।
महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७ः१० बजे एक्कासी ब्रेक फेल भई सडकको बायाँतर्फको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।
बस खप्तड छेडेदह गाउँपालिका–५ का ४३ वर्षीय चालक खडक बुढाले चलाइरहेका थिए। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य गरेको थियो।
दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल, मार्तडी पठाइएको छ भने एक जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल, बयलपाटा अछाम रिफर गरिएको छ। बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।











