प्रिमियम आईपीओ तयारीबीच मारुती सिमेन्टको ९ महिनाको व्यापार झण्डै ४ अर्ब, पूर्वी क्षेत्रमा बलियो पकड

काठमाडौँ । प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको व्यावसायिक घराना गोयल समूह र राठी समूहको लगानी रहेको मारुती सिमेन्ट लिमिटेडले पछिल्लो समय व्यापार, नाफा र वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाली सिमेन्ट बजारमा ‘मारुती’ ब्रान्डप्रतिको बढ्दो मागसँगै कम्पनीको कारोबार निरन्तर उकालो लागिरहेको देखिएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामै कम्पनीले झण्डै ४ अर्ब रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । यस अवधिमा कम्पनीको कुल कारोबार ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ पुगेको हो । माग विस्तार र बजार सुदृढीकरणको प्रभावले कम्पनीको बिक्रीमा निरन्तर वृद्धि देखिएको छ ।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा मारुती सिमेन्टले ५ अर्ब ९३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको कारोबार ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँमा सीमित थियो । यसरी लगातार दुई आर्थिक वर्षमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले चालु आर्थिक वर्षको छोटो अवधिमै उच्च व्यापारिक गति कायम राख्न सफल भएको छ ।
व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि उल्लेखनीय सुधार आएको छ । आर्थिक वर्ष २०८०/८१ मा १० दशमलव ३८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८१/८२ मा बढेर २० दशमलव ८६ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षको नौ महिनामै सञ्चालन नाफा मार्जिन ३१ दशमलव १७ प्रतिशतसम्म पुगेको छ ।
कम्पनीको वित्तीय संरचनामा पनि सकारात्मक परिवर्तन देखिएको छ । कुल ऋण अनुपात आर्थिक वर्ष २०८०/८१ मा ० दशमलव ८५ गुणा रहेकोमा २०८१/८२ मा घटेर ० दशमलव ७५ गुणा पुगेको थियो भने चालु आर्थिक वर्षको नौ महिनामा यो अझै घटेर ० दशमलव ६३ गुणामा झरेको छ ।
त्यस्तै, कुल दायित्व र स्पर्शनीय खुद सम्पत्तिको अनुपात पनि क्रमशः सुधार हुँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ० दशमलव ९४ गुणा रहेको यो सूचक २०८१/८२ मा ० दशमलव ८७ गुणा हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ० दशमलव ८० गुणामा झरेको छ । तरलता अवस्थाको सूचक चालु अनुपात पनि स्थिर र सन्तुलित देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा १ दशमलव ९२ गुणा रहेको चालु अनुपात २०८१/८२ मा १ दशमलव ७९ गुणामा घटेको भए पनि चालु आर्थिक वर्षको नौ महिनामा पुनः १ दशमलव ९१ गुणामा पुगेको छ ।

त्यसैगरी, कुल ऋण र कुल नगद प्रवाह अनुपातमा पनि उल्लेखनीय सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा १६ दशमलव ८२ गुणा रहेको यो अनुपात २०८१/८२ मा ५ दशमलव ६८ गुणामा झरेको थियो भने चालु आर्थिक वर्षको नौ महिनामा थप घटेर ३ दशमलव ८७ गुणामा पुगेको छ ।
मारुती सिमेन्ट लिमिटेड सन् १९९४ अक्टोबर ३१ मा स्थापना भएको कम्पनी हो । हालको व्यवस्थापनले सन् २००५ मा कम्पनीको जिम्मेवारी सम्हालेपछि यसको व्यावसायिक दिशा अझ व्यवस्थित र विस्तारमुखी बनेको बताइन्छ । कम्पनी पूर्ण रूपमा प्रवद्र्धकहरूको स्वामित्वमा सञ्चालन भइरहेको छ जसमा राठी समूह र गोयल समूहजस्ता प्रतिष्ठित उद्योग तथा व्यापारिक घरानाको लगानी रहेको छ । कम्पनीको उत्पादन संरचनामा दैनिक ३ हजार ३ सय मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता र ४ हजार मेट्रिक टन ग्राइन्डिङ क्षमता रहेको छ । उत्पादन केन्द्र सिराहा जिल्लाको मिर्चैया क्षेत्रमा अवस्थित छ ।
कम्पनीले आफ्नो उत्पादन नेपालभर वितरण गर्दै आएको छ जसमा विशेष प्राथमिकता पूर्वी नेपालको बजारलाई दिइएको छ । नारायणघाटदेखि काकरभिट्टासम्म फैलिएको यसको प्रमुख बजार क्षेत्र रहेको छ भने नारायणघाटको उत्तरतर्फसम्म पनि यसको उपस्थिति विस्तार भएको छ । करिब २०० वटा डिलरहरूको सञ्जालमार्फत कम्पनीले आफ्नो उत्पादन देशभर पुर्याइरहेको छ । पूर्वी क्षेत्रमा स्थापित ब्रान्ड पहिचान र मजबुत बजार संरचनाका कारण कम्पनीले मूल्य प्रतिस्पर्धाबाट आउने उतारचढावलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सफल भएको छ ।
उत्पादन विविधीकरणतर्फ पनि कम्पनीले कदम चालेको छ । हाल सामान्य पोर्टल्यान्ड सिमेन्टसँगै पोर्टल्यान्ड पोजोलाना सिमेन्टको उत्पादन सुरु गरिएको भए पनि यो अझै सानो स्तरमै सीमित छ । यद्यपि, यसले भविष्यमा कम्पनीको उत्पादन दायरा विस्तार गर्दै बजार प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
कम्पनीसँग कटारीस्थित झाङ्की खोला क्षेत्रमा रहेको एक खानीको उत्खनन अनुमति पनि छ जसमा करिब १४ करोड टन चुनढुंगाको भण्डार रहेको अनुमान गरिएको छ । यो भण्डार विस्तारित ३ हजार ३ सय टन प्रतिदिन क्लिङ्कर उत्पादन क्षमताको इकाइलाई तीन दशकभन्दा बढी समयसम्म सञ्चालन गर्न पर्याप्त हुने विश्वास गरिएको छ । यसले कम्पनीलाई दीर्घकालीन कच्चा पदार्थ सुरक्षाको दृष्टिले महत्वपूर्ण आधार प्रदान गरेको छ ।
कम्पनीले प्रतिकित्ता ३७७ रुपैयाँ दरमा १ करोड १६ लाख कित्ता बराबरको ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनपछि कम्पनीको वित्तीय संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।











