गलत प्रोत्साहन संरचनाले देश संकटमा पुग्यो, अब प्रतिस्पर्धी अर्थतन्त्रको समय होः स्वर्णिम वाग्ले

७ असार २०८३, आईतवार १६:१०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक संकटको मूल कारण स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रहेको बताएका छन्। पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन तथा चौथो स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै उनले पहुँच र शक्ति केन्द्रसँगको निकटताले सफलता निर्धारण गर्ने वर्तमान प्रणाली परिवर्तन नगरेसम्म देशले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न नसक्ने बताएका हुन्।

उनले व्यवसायमा नवप्रवर्तन गर्न कठिन तर शक्ति केन्द्रसँग नजिक हुन सजिलो हुने व्यवस्था विकास भएको उल्लेख गर्दै राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने र अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताए। प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्दै पहुँचभन्दा क्षमता, आसेपासे पुँजीवाद वा विकृत समाजवादभन्दा उद्यमशीलता र परिश्रमलाई समृद्धिको आधार बनाउनुपर्ने उनको भनाइ थियो।

वाग्लेले आर्थिक गतिविधिको स्वरूप परिवर्तन भए पनि मर्यादित रोजगारीका अवसर विस्तार हुन नसकेको, राज्यको आकार बढे पनि क्षमता नबढेको तथा अधिकार वृद्धि भए पनि सार्वजनिक सेवाको गुणस्तरमा अपेक्षित सुधार आउन नसकेको बताए। यही अन्तरविरोधका कारण आजको राष्ट्रिय संकट पैदा भएको उनको निष्कर्ष थियो।

उनले युवाले अवसरका लागि देश छोड्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उल्लेख गर्दै श्रम, सीप, ज्ञान र सिर्जनशीलताले नेपालमै सम्मान र अवसर पाउने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताए। किसान र श्रमिकले गर्वका साथ बाँच्न सक्ने, उद्यमीले बिना भय लगानी गर्न सक्ने तथा प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सक्ने अवस्था सिर्जना गर्नु रास्वपाको लक्ष्य रहेको उनको भनाइ थियो।

डा. वाग्लेले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट जन्मिएको दल नभई नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको तीव्र आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए। इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थालेको, लोकतन्त्रले आशा जगाउन छाडेको र नागरिक तथा राज्यबीचको विश्वास कमजोर बन्दै गएको परिस्थितिमा रास्वपा लोकतान्त्रिक विद्रोहको आवाजका रूपमा उदाएको उनको दाबी थियो।

विगतका आन्दोलनहरूले लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको उनले बताए। निर्वाचन धेरै भए पनि उत्तरदायित्व कमजोर रहेको, संविधान बने पनि संस्थाहरू बलिया बन्न नसकेको र सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको उल्लेख गर्दै उनले विवेक, विधि र नियममा आधारित शासन प्रणाली स्थापना गर्नुपर्ने बताए। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ, सत्ता केन्द्रित राजनीतिबाट नागरिक केन्द्रित लोकतन्त्रतर्फ र गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ देशलाई लैजानुपर्ने उनको धारणा थियो।

उनले रास्वपा कसैलाई हराउन नभई नेपाललाई जिताउन आएको भन्दै पुरानो पुस्तासँग संघर्ष गर्नभन्दा नयाँ राजनीतिक संस्कार स्थापना गर्न चाहेको बताए। पार्टीको शक्ति केवल आक्रोशमा सीमित नभई आशा, विकल्प र निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

वाग्लेले अब रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नयाँ पुस्ताले केवल प्रश्न सोध्ने मात्र नभई उत्तर दिने, विरोध गर्ने मात्र नभई शासन चलाउने र सपना देख्ने मात्र नभई परिणाम दिने क्षमता पनि प्रमाणित गर्नुपर्ने बताए।

उनले रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना अघि सारेको बताए। निर्वाचनले सरकार बनाउने तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राख्ने, बहुमतले शासन गर्ने तर अल्पमत पनि सम्मानित रहने लोकतान्त्रिक व्यवस्था निर्माण गर्नुपर्ने उनको धारणा थियो।

त्यस्तै कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा पारिवारिक आर्थिक अवस्थाले नभई प्रतिभाले निर्धारण गर्ने समन्यायिक समाज तथा नागरिकमाथि शासन गर्ने होइन, नागरिकको सेवा गर्ने सक्षम राज्य निर्माण गर्नुपर्ने उनले बताए।

नेपालले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा बस्न नहुने उल्लेख गर्दै उनले नागरिकको क्षमता, संस्थाको बल र राष्ट्रिय आत्मविश्वासका आधारमा २१औँ शताब्दीको अग्रगामी राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्न सकिने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*