राष्ट्र बैंकले छोड्दै उपभोक्ता मूल्य सूचकांकको जिम्मा, तथ्याङ्क कार्यालयले सम्हाल्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन तथा प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गर्ने भएको छ। राष्ट्रिय तथ्यांक परिषद्को सोमबार बसेको बैठकले मुद्रास्फीति मापनका लागि प्रयोग हुने उपभोक्ता मूल्य सूचकांकको तथ्यांक संकलन, प्रशोधन तथा प्रकाशनको जिम्मेवारी राष्ट्रिय तथ्यांक कार्यालयलाई दिने निर्णय गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिए। उनका अनुसार आगामी एक वर्षसम्म नेपाल राष्ट्र बैंकले तथ्यांक कार्यालयलाई प्राविधिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराउनेछ। यस अवधिमा तथ्यांक कार्यालयका कर्मचारी तथा प्राविधिक जनशक्तिले राष्ट्र बैंकसँग समन्वय गरेर काम गर्नेछन् भने क्रमशः सम्पूर्ण जिम्मेवारी राष्ट्रिय तथ्यांक कार्यालयमा हस्तान्तरण गरिनेछ।
उपभोक्ता मूल्य सूचकांक मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन तथा जीवनयापन लागतको मूल्यांकनका लागि महत्वपूर्ण आधार मानिन्छ। नेपाल राष्ट्र बैंकले लामो समयदेखि प्रत्येक महिना उपभोक्ता मूल्य सूचकांक र मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ।
यद्यपि, यसअघि लामो समयसम्म उपभोक्ता मूल्य सूचकांकसम्बन्धी काम राष्ट्रिय तथ्यांक कार्यालयबाटै हुँदै आएको थियो। पछि उक्त जिम्मेवारी राष्ट्र बैंकले लिएर नियमित रूपमा तथ्यांक प्रकाशन गर्दै आएको थियो। अब पुनः उक्त कार्य राष्ट्रिय तथ्यांक कार्यालयमा फर्काइएको हो।












