माफिया भाग्दा शेयर बजारमा गिरावटः फाइनान्स र हाइड्रोका लगानीकर्ता डुबे, अझै छैन सुधारको अवस्था !

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली पूँजी बजारमा निरन्तर दबाब देखिँदै आएको छ । नेप्से परिसूचक लगातार ओरालो लागेसँगै बजारमा भारी गिरावट कायम छ । सूचकसँगै कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ भने बजार सहभागिता कमजोर बन्दै गएको छ । लगातारको गिरावटले लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य क्षति पुगेको छ । दैनिक रूपमा देखिएको रातो सूचकले बजारमा अनिश्चितता र सुस्तता थप गहिरिँदै गएको विश्लेषण गरिएको छ ।
बजारमा देखिएको यो गिरावटसँगै साना तथा मझौला लगानीकर्तामा मनोबल कमजोर बन्दै गएको छ । लगातारको गिरावटले ठूलो रकम गुमाएको अनुभव गरेका लगानीकर्ताहरू जोखिमप्रति थप सतर्क बनेका छन् । दीर्घकालीन लगानीभन्दा तत्काल नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा बजारमा अस्थिरता अझै बढेको देखिन्छ । खरिद चाप कमजोर रहँदा बिक्री दबाब निरन्तर बढिरहेको छ, जसले मूल्यमा थप गिरावट ल्याइरहेको छ ।
यसैबीच, बजारमा ठूला लगानीकर्ताहरू क्रमशः बाहिरिने प्रवृत्ति देखिएको छ । नाफा सुरक्षित गर्ने उद्देश्यले भएको व्यापक बिक्रीले आपूर्ति बढाउँदा बजारमा थप दबाब सिर्जना भएको हो । कतिपय लगानीकर्ताले कर प्रणाली, पुँजीगत लाभकर तथा नियामक नीतिसम्बन्धी स्पष्टतामा अभाव रहेको भन्दै नीतिगत स्थायित्वको माग गरेका छन् । यही अनिश्चितताका कारण बजारमा विश्वास कमजोर बन्दै गएको विश्लेषण गरिएको छ ।
सरकारले पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र वित्तीय अपराध नियन्त्रणका गतिविधि तीव्र पारेसँगै बजारमा त्यसको मनोवैज्ञानिक प्रभाव परेको बताइन्छ । केही ठूला लगानीकर्ताहरू तथा माफियाहरु अनुसन्धानको घेरामा पर्ने आशंकाले बजारबाट बाहिरिएको चर्चा पनि बजारमा छ, जसले बिक्री चाप थप बढाएको छ ।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा बोल्दैसरकारको प्राथमिकता दीर्घकालीन आर्थिक सुधार र सुशासन रहेको स्पष्ट पारेका छन् । उनले पूँजी बजारको दैनिक उतार–चढावभन्दा संरचनागत सुधारमा सरकार केन्द्रित रहेको बताउँदै गभर्नेन्स सुधारमार्फत बजारलाई स्थिर दिशामा ल्याउने प्रयास भइरहेको उल्लेख गरेका छन् । बजारमा देखिएको हालको दबाबलाई अल्पकालीन प्रभावका रूपमा लिइए पनि लगानीकर्ताको विश्वास पुनःस्थापना र नीतिगत स्पष्टता नै आगामी दिनका प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २६७४.४८ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको शेयर मूल्य १.२८ प्रतिशत र हाइड्रोपावरको १.६३ प्रतिशतले घटेको छ ।
मंगलबार २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













