निर्जीवन बीमकको व्यवसाय १३.७१% ले बढ्यो: अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले झण्डै साढे ४४ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १३.७१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेक थिए ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेका छन् भने बृद्धिदरमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् ।
जेठ मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक पाँच अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०.५२ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा ब्यवसाय ६ प्रतिशतले बढेर चार अर्ब ७७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सको ब्यवसाय सर्वाधिक वृद्धि भएको छ । हिमालयनको ब्यवसाय ३५ प्रतिशतले बढेर चार अर्ब ७६ करोड र एनएलजीको ३६ प्रतिशतले बढेर तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
यता, क्रमशः सिद्धार्थ प्रिमियरको ०.२९ प्रतिशतले बढेर तीन अर्ब ९२ करोड, आईजीआई ाई प्रुडेन्सियलको १५ प्रतिशतले बढेर तीन अर्ब ९१ करोड, नेको इन्स्योरेन्सको ११ प्रतिशतले बढेर तीन अर्ब २८ करोड, द ओरियन्टलको १५ प्रतिशतले बढेर दुई अर्ब ८० करोड, युनाइटेड अजोडको १४ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड, सानिमा जिआईसीको ८ प्रतिशतले बढेर दुई अर्ब ५५ करोड, नेपाल इन्स्योरेन्सको ७ प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब ६४ करोड, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४२ करोड र नेशनल लाइफले एक अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क पुगेको छ ।











