निर्जीवन बीमा कम्पनीहरूले जेठमा मात्रै गरे ४ अर्ब ९ करोडको व्यवसाय, कुन कम्पनीले कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्याङ्क आज सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेको देखिएको हो।
गत आर्थिक वर्षको जेठ महीनामा यी नै कम्पनीहरूले ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेका थिए। यस आधारमा गत आर्थिक वर्षको जेठ महीनाको तुलनामा चालू आर्थिक वर्षको जेठ महीनामा निर्जीवन बीमा व्यवसाय ३.९२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
जेठ महीनामा सलिकोले सर्वाधिक ५१ करोड ५२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ भने दोस्रोमा शिखर इन्स्योरेन्सले ४३ करोड ४१ लाख रुपैयाँ, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ५७ लाख रुपैयाँ, चौथोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ३७ लाख रुपैयाँ र पाँचौंमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २८ लाख रुपैयाँको व्यवसाय गरेको देखिएको छ।

त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ४ लाख रुपैयाँ, एनएनली इन्स्योरेन्सले २८ करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २६ करोड ९६ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले २१ करोड ५३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १९ करोड २२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १३ करोड २५ लाख रुपैयाँमाथिको व्यवसाय गरेको छ।
वृद्धिदरको आधारमा हेर्दा नेशनल इन्स्योरेन्सको गत आवको जेठ महीनाको तुलनामा चालू आवको सोही अवधिमा १७८ प्रतिशतले व्यवसाय बढेको छ। त्यसपछि राष्ट्रिय बीमा कम्पनीको ५६.७२ प्रतिशत, ओरियण्टलको २७.७९ प्रतिशत, सलिकोको ११.४७ प्रतिशत र आईजीआई प्रुडेन्सियलको ६.४५ प्रतिशतले बीमा व्यवसाय बढेको छ।
त्यसपछि शिखरको ६.१२ प्रतिशत, नेकोको ५.२५ प्रतिशत, प्रभुको ४.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.८९ प्रतिशतले बढेको छ। यता सिद्धार्थ प्रिमियरको ०.७४ प्रतिशत, एनएलजीको ९.७५ प्रतिशत, युनाइटेड अजोडको १०.९१ प्रतिशत, हिमालयन एभरेष्टको ११.५२ प्रतिशत र सानिमा जीआईसीको २७.१८ प्रतिशतले बीमा व्यवसाय घटेको देखिएको छ।











