आधा दर्जन बीमा कम्पनीमा नयाँ नेत्तृव चयन गर्न निर्देशन दिँदै प्राधिकरण

११ असार २०८३, बिहीबार १३:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले धितोपत्र र बीमा कसुरको कारण निलम्बनमा परेका झण्डै आधा दर्जन इन्स्योरेन्स कम्पनीमा नयाँ नेत्तृव चयन गर्न निर्देशन दिने भएको छ।

फौजदारी मुद्दा दायर भएसँगै रिक्त भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) र कामु सिईओ छनोट गरेर काम कारवाही सक्रिय रुपमा सुचारु गर्न निर्देशन दिने भएको हो ।

बीमा कम्पनीका अध्यक्ष, सञ्चालक, सीईओसहित करिब ६० जना विरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएसँगै बीमा ऐनअनुसार उनीहरू पदमा रहन नपाउने व्यवस्था लागू भएसँगै कतिपय बीमा कम्पनीहरुमा दैनिक काम कारवाहीमा समस्या देखिन थालेपछि बीमा प्राधिकरणले यस्तो निर्देशन दिन लागेको हो ।

प्राधिकरणले निलम्बनमा रहेका हिमालयन रि–इन्स्योरेन्स, बीमा कम्पनीदेखि लघुबीमा कम्पननीमा कामु सिईओदेखि सिईओ नियुक्तिको लागि निर्देशन दिने भएको हो ।

प्राधिकरणको स्रोतका अनुसार ती कम्पनीहरुले तत्कालै बिशेष साधारणसभा हुँदै संचालक समितिमार्फत कामु सिईओदेखि सिईओ नियुक्तिको लागि निर्देशन दिने तयारी गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ २८ गते बीमा क्षेत्रमा सबैभन्दा धेरै उच्च पदाधिकारीहरु सहितको बीमा र धितोपत्र कसुरको मुद्दा लागेपछि यति बेला आधा दर्जन बीमा कम्पनीहरुको दैनिक कामकारवाहीमा समस्या देखिन थालेको छ ।

यतिबेला धितोपत्र बजारसम्बन्धी मुद्दाले सबैभन्दा ठूलो धक्का लघु बीमा क्षेत्रमा पुगेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सञ्चालक त्रिशिला झुनझुनवाला, डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल र नवराज मुडभरी निलम्बित भएका छन् ।

त्यस्तै, अध्यक्ष उदिप श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ज्योतिप्रसाद पाण्डे तथा लगानी सदस्य समीर खरेल पनि फौजदारी अभियोगमा मुछिएपछि निलम्बनमा परेका छन् । यससँगै कम्पनीमा निर्णय गर्ने अधिकारयुक्त नेतृत्व लगभग रिक्त बनेको छ ।प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष किर्तिका अग्रवाल, सञ्चालक दिनेश सरिया, नितेश मालपानी, निरु दाहाल, गणेशराज पन्त तथा सञ्चालक सदस्य भानुभक्त पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सीईओ नरेशकुमार रोका समेत निलम्बित भएपछि कम्पनीको दैनिक प्रशासन, वित्तीय निर्णय र रणनीतिक काम प्रभावित भएको कम्पनी स्रोत बताउँछ ।

क्रेस्ट माइक्रो इन्स्योरेन्समा सञ्चालक विदुर पुरी, मृदुला सरिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन तथा लगानी संयोजक रोहित करण वैद्य निलम्बनमा परेका छन् । सीईओ प्रतापमान श्रेष्ठ पनि निलम्बित भएपछि कम्पनीको नेतृत्व शून्यजस्तै बनेको छ ।

सञ्चालक बलराम खत्री, नेहा अग्रवाल, आशिष सिंह तथा सीईओ रामकुमार यादवविरुद्ध मुद्दा दायर भएपछि सबै निलम्बित भएका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल तथा सीईओ मृगेन्द्रनाथ रिमाल पनि मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् । यस कम्पनी पनि अहिले प्रभावकारी नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

लामो समयदेखि रिक्त रहेको बीमा कम्पनीमा अध्यक्ष, सञ्चालक र सीईओ एकैपटक निलम्बित हुँदा पनि कामु सिईओसम्म नियुक्त गर्न अटेर गरेसागै प्राधिकरणले यो कदम चाल्न लागेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*