वर्षौदेखि लाभांश नदिएको एनआईसी एशिया बैंकको हकप्रद गुपचुप पास गर्ने तयारीमा धितोपत्र बोर्ड

११ असार २०८३, बिहीबार १७:४६

काठमाडौँ । निरन्तर वित्तीय, व्यवस्थापकीय, घाटाको दबाबको सामना गरिरहेको एनआईसी एशिया बैंकले सर्वसाधारण लगानीकर्ताको बढ्दो चिन्ता र बजारमा देखिएको अविश्वासका बीच हकप्रद शेयर निष्कासनको स्वीकृति प्राप्त गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीव्र रूपमा जोडबल गरिरहेको देखिएको छ । बैंकको कमजोर वित्तीय अवस्था, बढ्दो खराब कर्जा, बर्षौदेखि लाभांश वितरण गर्न नसकेको स्थिति, संस्थापक शेयरधनीहरूको बहिर्गमन तथा व्यवस्थापन तहमा देखिएको विवादका कारण बैंकको प्रस्तावित हकप्रद निष्कासनलाई लिएर बजारमा गम्भीर प्रश्नहरू उठ्न थालेको हो ।

बैंकले २ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ चुक्ता पूँजीको आधारमा हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ। हाल कायम प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरमध्ये प्रत्येक दुई कित्ता बराबर एक कित्ता अर्थात् २ः१ अनुपातमा हकप्रद शेयर जारी गरिनेछ । यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण शेयर विद्यमान शेयरधनीलाई बिक्री गर्ने योजना बनाएको छ ।

धितोपत्र बोर्डले बैंकको यर्थात अवस्था सुधार गरेर मात्रै हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिनुपर्नेमा गुपचुप रुपमा स्वीकृत प्रदान गर्ने तयारी भइरहेको बुझिएको छ । सूचीकृत कम्पनीको वित्तीय अवस्था खराब हुँदै गएमा नियामकीय निगरानी र कारबाही दुबैै गर्नुपर्ने दायित्व बोकेको धितोपत्र बोर्ड सर्वसाधारणको लगानी जोखिममा पार्ने गरी वर्षौदेखि लाभांश दिन नसकेको कम्पनीलाई के कति कारणले हकप्रद शेयरको अनुमति दिन खोज्दै छ भन्ने प्रश्न उठ्दै गएको छ ।

बैंकले हकप्रद निष्कासनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला यसको वास्तविक उद्देश्य व्यवसाय विस्तारभन्दा पनि कमजोर बन्दै गएको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) जोगाउने प्रयास रहेको विश्लेषण हुन थालेको छ । बैंकको वित्तीय अवस्था पछिल्ला वर्षहरूमा निरन्तर कमजोर बन्दै गएको, मुनाफा खुम्चिँदै गएको तथा जोखिम सूचकहरू चिन्ताजनक रूपमा बिग्रिँदै गएका कारण हकप्रदमा लगानी गर्नु भनेको धेरै लगानीकर्ताका लागि ‘बालुवामा पानी हाल्नुसरह’ हुन सक्ने टिप्पणी बजार वृत्तमा सुनिन थालेको छ ।

विशेषगरी खराब कर्जाको अवस्था झनै चिन्ताजनक देखिएको छ । वाणिज्य बैंकहरूमध्ये एनआईसी एशिया बैंकको खराब कर्जा अनुपात उच्च स्तरमा पुगेको छ । वित्तीय स्थायित्वको दृष्टिकोणले यस्तो अवस्था निकै जोखिमपूर्ण मानिन्छ । यसले बैंकको कर्जा नीति, जोखिम व्यवस्थापन क्षमता तथा ब्याज आम्दानीमा आधारित व्यवसायिक मोडेलमाथि नै प्रश्न खडा गरेको छ र

पुँजी पर्याप्तताको अवस्था पनि सन्तोषजनक देखिँदैन । नियामकीय न्यूनतम सीमाको नजिक वा केही सूचकमा दबाबयुक्त अवस्था देखिएकाले बैंकको विस्तार क्षमता सीमित बन्दै गएको छ। कर्जा विस्तार तथा नयाँ लगानी गर्ने सम्भावना समेत संकुचित हुँदै गएको संकेत वित्तीय विवरणहरूले गरेका छन् । कर्जा र निक्षेप दुवैमा देखिएको सुस्त वृद्धिले बैंकको कारोबार विस्तारमा कमजोरी आएको स्पष्ट देखिन्छ । उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्न नसक्नु र कम प्रतिफल दिनेमा बढी केन्द्रित हुनुपरेका कारण बैंकको आम्दानी क्षमता कमजोर बनेको छ ।

बैंकले पछिल्ला केही वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन । यसको प्रमुख कारण वितरणयोग्य मुनाफा नै ऋणात्मक अवस्थामा पुग्नु हो । हाल बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । यस्तो अवस्थामा निकट भविष्यमा समेत लाभांश वितरणको सम्भावना कमजोर छ । ३ वर्षदेखि बैंकले लाभांश समेत दिन सकेको छैन ।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य रहेका छन् । यद्यपि बैंकभित्र व्यवस्थापन समूह र नेतृत्व तहबीच मतभेद कायमै रहेको चर्चा लामो समयदेखि चल्दै आएको छ । निर्णय प्रक्रिया सीमित व्यक्तिहरूमा केन्द्रित भएको, गुटगत प्रभाव बढेको तथा संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइएको आरोप समेत विभिन्न वृत्तमा उठ्ने गरेको छ ।

यही पृष्ठभूमिमा पछिल्लो एक वर्षमा संस्थापक समूहका केही शेयरधनीहरूले समेत शेयर बिक्री गर्दै बैंकबाट बाहिरिने क्रम बढेको छ । संस्थापक लगानीकर्ताहरू नै बैंकप्रति आशावादी नदेखिएको अवस्थामा सर्वसाधारणलाई थप लगानी गर्न आह्वान गरिनु उपयुक्त हो वा होइन प्रश्न उठ्न थालेको छ ।

यसबीच, बैंकको वित्तीय साखमा समेत दबाब देखिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकको जारीकर्ता रेटिङलाई यसअघि रहेको आईआरएन बीबीबीबाट घटाएर आईआरएन बीबीबी माइनसमा झारेको छ । साथै रेटिङ वाचलाई नकारात्मक असर रहने गरी निरन्तरता दिइएको छ । यस्तो रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा दबाब बढ्दै गएको तथा जोखिमको स्तर उकालो लागेको संकेत गर्ने विश्लेषण गरिएको छ ।

यस्तो अवस्था हुँदाहुँदै पनि बैंकले हकप्रद निष्कासनको स्वीकृतिका लागि सेबोनमा निरन्तर जोडबल गरिरहेको हो । बोर्डले समेत वित्तीय अवस्था अध्ययन नै नगरी गुपचुप रुपमा कम्पनीको हकप्रद स्वीकृत गर्ने तिर अघि बढेको देखिएको छ ।

वित्तीय दबाबमा एनआईसी एशिया बैंकः रेटिङमा गिरावट, नेगेटिभ वाच कायमै

एनआईसी एसिया बैंकभित्रको झगडाको मारमा सर्वसाधारणः वित्तीय अवस्था खराब, ४४ शाखा बन्द

हराएको चेकमा किर्ते हस्ताक्षरः खातावालामाथि नै चेक बाउन्सको मुद्दा, एनआईसी एशियाले किन देखेन जालसाजी ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*