अर्थमन्त्रीको महाधिवेशन दौडधुपले सेबोन अध्यक्ष भट्टको पदबहालीमा ढिलाइ

११ असार २०८३, बिहीबार १८:०८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्टको सपथ तथा पदभार ग्रहण प्रक्रिया अझै अघि बढ्न सकेको छैन। सरकारको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे पनि औपचारिक सपथ र पदभार ग्रहण भने हुन बाँकी रहेको हो ।

अध्यक्ष नियुक्तिपछि सपथ तथा पदभार ग्रहण गराउनका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्रालयमा उपस्थित हुन नसक्दा प्रक्रिया केही दिन पछाडि धकेलिएको जनाएको छ। अर्थमन्त्री वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत हुन्। उनी असार ७ गतेदेखि चितवनमा जारी पार्टीको महाधिवेशनमा सहभागी हुँदै आएका छन्। महाधिवेशनका विभिन्न कार्यक्रम तथा जिम्मेवारीमा व्यस्त रहेकाले उनी हालसम्म काठमाडौं फर्किन सकेका छैनन्।

यसका कारण सेबोनको नेतृत्व हस्तान्तरण प्रक्रिया तत्काल अगाडि बढ्न नसकेको बताइएको छ। बोर्डमा नयाँ नेतृत्व आएपछि नीतिगत तथा प्रशासनिक निर्णयहरू थप सक्रिय रूपमा अघि बढ्ने अपेक्षा गरिए पनि औपचारिक पदभार ग्रहण नहुँदा त्यसको प्रभाव देखिएको छ।

अर्थमन्त्री काठमाडौं फर्किएपछि आवश्यक औपचारिक प्रक्रिया पूरा गरी डा. भट्टले सपथ लिने र पदभार ग्रहण गर्ने तयारी रहेको जनाइएको छ।  बोर्डको नयाँ अध्यक्षको पदबहाली आउँदो सातातिर मात्रै हुने सम्भावना देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*