पोखरा फाइनान्सलाई राहत, राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही हटायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रियापछि संयुक्त संस्थाको पुँजीकोष अनुपात तोकिएको न्यूनतम स्तर नजिक पुगेको देखिएपछि राष्ट्र बैंकले उक्त कारबाही हटाएको हो।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै समितिको २०८३ असार १० गतेको निर्णयअनुसार समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरिएको जनाएको छ।
यसअघि २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणमा आधारित समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि पोखरा फाइनान्सको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै तल देखिएको थियो। त्यसपछि राष्ट्र बैंकले २०८१ माघ २३ गते शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारबाही गरेको थियो।
राष्ट्र बैंकका अनुसार समृद्धि फाइनान्स कम्पनीसँग गाभ्ने–गाभिने प्रक्रियालाई समितिले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति दिएको थियो। त्यसपछि २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा संयुक्त संस्थाको प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको छ।











