नेपाल टेलिकमले ल्यायो एकपटक सक्रिय गरेपछि हरेक महिना आफैं नवीकरण हुने प्रिपेड प्याकेज

१४ असार २०८३, आईतवार १३:५३

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने (सब्स्क्रिप्सन–बेस्ड) नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ। नयाँ व्यवस्थासँगै ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि हरेक महिना पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्ने भएको छ।

कम्पनीका अनुसार ग्राहकको मोबाइल ब्यालेन्समा पर्याप्त रकम उपलब्ध भएमा प्याकेज प्रत्येक ३० दिनमा स्वतः नवीकरण हुनेछ। नियमित रूपमा एउटै प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई सहज बनाउन ‘नमस्ते रिकरिङ’ नामबाट तीन प्रकारका प्याकेज सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

३० दिनका लागि उपलब्ध ‘नमस्ते रिकरिङ २९९’ प्याकमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा कम्पनीकै नेटवर्कमा प्रयोग गर्न मिल्ने २० वटा अन–नेट एसएमएस समावेश गरिएको छ।

त्यसैगरी ‘नमस्ते रिकरिङ ४९९’ प्याकमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध गराइएको छ।

उच्च डेटा तथा भ्वाइस प्रयोगकर्तालाई लक्षित ‘नमस्ते रिकरिङ ७९९’ प्याकमा सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न मिल्ने कुल ३०० जीबी डाटा तथा ३०० वटा अल–नेट एसएमएस सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

ग्राहकको थप आवश्यकतालाई मध्यनजर गर्दै नेपाल टेलिकमले एड–अन डाटा प्याक पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी तथा ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार ग्राहकले *1415# डायल गरी प्राप्त निर्देशनअनुसार नयाँ सब्स्क्रिप्सन–आधारित प्रिपेड प्याकेज सक्रिय गर्न सक्नेछन्। नियमित रूपमा डेटा तथा भ्वाइस प्याक प्रयोग गर्ने ग्राहकका लागि यो सेवा थप सहज र सुविधाजनक हुने विश्वास नेपाल टेलिकमले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*