एमजी ब्रान्डका गाडी बेचेर पारामाउन्ट मोटर्सले ९ महिनामा कमायो २ अर्ब ४० करोड, ऋणको भार अझै उच्च

काठमाडौं । नेपाली बजारमा एमजी ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको पारामाउन्ट मोटर्स प्रालिले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै झण्डै साढे २अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा दुई अर्ब ४० करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको हो।
यसअघि कम्पनीले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा तीन अर्ब ८६ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा चार अर्ब १२ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा दुई अर्ब सात करोड ६० लाख रुपैयाँ तथा सन् २०२२ मा तीन अर्ब ४७ करोड रुपैयाँको कारोबार गरेको थियो। गत आर्थिक वर्ष कम्पनीको कारोबार अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले घटेको थियो।
गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी ४ र एमजी एस ५ दुई मोडलबाट मात्रै आएको थियो ।
कम्पनीको सञ्चालन नाफा मार्जिन भने पछिल्ला वर्षमा दबाबमा देखिएको छ। सन् २०२४ मा ६ दशमलव ८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्षमा घटेर ५ दशमलव २ प्रतिशतमा सीमित भएको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने यसमा केही सुधार हुँदै ६ प्रतिशत पुगेको छ।
वित्तीय सूचकांकका आधारमा कम्पनीको कुल ऋण तथा मूर्त खुद सम्पत्ति अनुपात सन् २०२२ मा ० दशमलव १ गुणा रहेकोमा सन् २०२३ मा २ दशमलव ३ गुणा, सन् २०२४ मा ३ दशमलव २ गुणा, गत आर्थिक वर्षमा २ दशमलव ७ गुणा तथा चालु आर्थिक वर्षको नौ महिनामा पनि २ दशमलव ७ गुणामै कायम रहेको छ।
त्यस्तै, कुल बाह्य दायित्व तथा मूर्त खुद सम्पत्ति अनुपात सन् २०२२ मा ० दशमलव ५ गुणा रहेकोमा सन् २०२३ मा २ दशमलव ६ गुणा, सन् २०२४ मा ४ दशमलव ३ गुणा र गत आर्थिक वर्षमा बढेर ६ दशमलव ६ गुणा पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने यो अनुपात उल्लेख्य रूपमा घटेर २ दशमलव ८ गुणामा झरेको छ।
कुल ऋण तथा सञ्चालन नाफा अनुपात सन् २०२२ मा ० दशमलव २ गुणा रहेकोमा सन् २०२३ मा ६ दशमलव ४ गुणा, सन् २०२४ मा ७ दशमलव ४ गुणा, गत आर्थिक वर्षमा ९ गुणा तथा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ९ दशमलव २ गुणा पुगेको छ।
ब्याज भुक्तानी क्षमता पनि क्रमशः कमजोर बन्दै गएको देखिएको छ। सन् २०२२ मा २० दशमलव ३ गुणा रहेको ब्याज भुक्तानी क्षमता अनुपात सन् २०२३ मा ६ दशमलव ३ गुणा, सन् २०२४ मा १ दशमलव ९ गुणा, गत आर्थिक वर्षमा १ दशमलव ७ गुणा तथा चालु आर्थिक वर्षको नौ महिनामा घटेर १ दशमलव ३ गुणामा सीमित भएको छ।
त्यस्तै, ऋण सेवा भुक्तानी क्षमता अनुपात सन् २०२२ मा १५ दशमलव ६ गुणा रहेकोमा सन् २०२३ मा ५ दशमलव १ गुणा, सन् २०२४ मा १ दशमलव ६ गुणा, गत आर्थिक वर्षमा १ दशमलव ४ गुणा तथा चालु आर्थिक वर्षको नौ महिनामा १ दशमलव २ गुणामा झरेको छ।
कम्पनीको चालु अनुपात सन् २०२२ मा ३ दशमलव ६ गुणा रहेकोमा सन् २०२३ मा १ दशमलव ३ गुणा, सन् २०२४ मा १ दशमलव २ गुणा, गत आर्थिक वर्षमा १ दशमलव १ गुणा तथा चालु आर्थिक वर्षको नौ महिनामा १ दशमलव ३ गुणा पुगेको छ। सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजी अनुपात सन् २०२२ मा १२ प्रतिशत रहेकोमा सन् २०२३ मा ७४ प्रतिशत, सन् २०२४ मा ५९ प्रतिशत, गत आर्थिक वर्षमा ५६ प्रतिशत तथा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६६ प्रतिशत रहेको छ।
वि.सं. २०७३ भदौ १२ गते स्थापना भएको पारामाउन्ट मोटर्स नेपालका लागि चीनको साइक मोटर कर्पोरेसनसँग वितरण सम्झौता गरी एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्रेताका रूपमा कार्यरत छ। कम्पनीले वि.सं. २०७६ चैतदेखि जापानको माज्दा मोटर कर्पोरेसनसँग सम्झौता गरी माज्दा ब्रान्डका सवारीसाधनको पनि नेपालका लागि आधिकारिक बिक्री–वितरण सुरु गरेको थियो।
हाल कम्पनीले देशभर आफ्नै तीन वटा शोरुम सञ्चालन गरिरहेको छ भने १५ वटा आधिकारिक डिलरमार्फत बिक्री तथा सेवा सञ्जाल विस्तार गरेको छ।











