आईपीओको तयारी गरेको भोटेकोसी हेली रिसोर्ट अब लिलामीमा, नेपाल बैंकले बेच्दै धितो सम्पत्ति

काठमाडौं । ऋण असुलीको प्रयास पटक–पटक असफल भएपछि नेपाल बैंकले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ। बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना बिक्रीमार्फत कर्जा असुल गर्ने प्रक्रिया अघि बढाएको हो।
बैंकले इच्छुक व्यक्ति तथा संस्थाबाट १५ दिनभित्र बोलकबोल आवेदन माग गरेको छ। सूचनाअनुसार असार २९ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिनेछ। सबैभन्दा बढी रकम प्रस्ताव गर्ने बोलकबोलकर्ताले स्वीकृत भएको दिन नै कबोल रकमको १० प्रतिशत धरौटी नगद रूपमा बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि पनि बैंकले दुई चरणमा सार्वजनिक सूचना प्रकाशित गर्दै ऋणी पक्षलाई कर्जा चुक्ता गर्न ३५–३५ दिनको समय दिएको थियो। पहिलो सूचना २०८२ जेठ १ गते र दोस्रो सूचना जेठ २७ गते प्रकाशित गर्दै समयमै ऋण भुक्तानी नगरे धितो सम्पत्ति लिलामी गरिने चेतावनी दिइएको थियो। साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरी कानुनी प्रक्रिया अघि बढाइने जानकारीसमेत बैंकले दिएको थियो।
बैंकले असार ५ गते नै लिलामी प्रक्रिया सम्पन्न गर्ने तयारी गरे पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा उक्त मिति स्थगित भएको थियो। त्यसपछि पुनः सूचना जारी गर्दै लिलामी प्रक्रिया अगाडि बढाइएको हो।
नेपाल बैंकका अनुसार रिसोर्ट सञ्चालकसँग पटक–पटक सम्पर्क, पत्राचार र ताकेता गर्दा पनि कर्जा नियमित नभएकाले अन्ततः धितो सम्पत्ति बिक्रीमार्फत ऋण असुल गर्ने निर्णय गरिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गर्दै बैंक आफैंले लिलामी प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।
रिसोर्टले नेपाल बैंकबाट व्यापारिक आवधिक कर्जा तथा चालु पूँजी कर्जा लिएको थियो। तर मूलधन र ब्याज दुवै नियमित रूपमा भुक्तानी नभएको र बारम्बारको आग्रहलाई बेवास्ता गरिएकाले कानुनी प्रक्रियाअनुसार धितो सम्पत्ति बिक्री गर्नुपरेको बैंकको भनाइ छ।
लिलामीमा सिन्धुपाल्चोकको मार्मिङ–१ मा रहेका कित्ता नम्बर १३६, ५७२, ५७० र १७८ अन्तर्गतका जग्गा, भवन तथा रिसोर्टसँग सम्बन्धित अन्य संरचना समावेश गरिएका छन्।
२०७८ सालदेखि सञ्चालनमा आएको भोटेकोसी हेली रिसोर्टलाई चारतारेस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो। रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन् भने सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका छन्।











