वैदेशिक रोजगार बीमाबाट ३ अर्ब बीमाशुल्क संकलन, अन्य पोलिसीबाट कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेख (पोलिसी) बेचेर १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
जसमध्ये सबैभन्दा धेरै सावधिक जीवन बीमा पोलिसीबाट ७१ अर्ब ६० करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने अग्रिम भुक्तानी सावधिक जीवन बीमा पोलिसीबाट ३३ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

त्यसैगरी रुपान्तरण सावधिक जीवन बीमा पोलिसीबाट २० अर्ब ७९ करोड ३१ लाख रुपैयाँ, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा पोलिसीबाट २९ अर्ब ३२ करोड १७ लाख रुपैयाँ र वैदेशिक रोजगार म्यादि जीवन बीमा पोलिसीबाट ३ अर्ब ८ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
यता आजीवन जीवन बीमा पोलिसीबाट ३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ७ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ, म्यादि जीवन बीमाबाट १ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ, लघु जीवन बीमाबाट ३ अर्ब ८ करोड ११ लाख रुपैयाँ र अन्य जीवन बीमाबाट ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

जीवन बीमा कम्पनीहरूले चालू आवको जेठ मसान्तसम्म २२ लाख ४९ हजार १२८ वटा सावधिक जीवन बीमा पोलिसी, ४ लाख ६४ हजार ३६८ अग्रिम भुक्तानी सावधिक जीवन बीमा पोलिसी, ६ लाख १२ हजार ६८५ वटा रुपान्तरित सावधिक जीवन बीमा पोलिसी बिक्री गरेका छन्।
त्यसैगरी बालबच्चा सम्बन्धी ११ लाख ११ हजार ७०९ पोलिसी, वैदेशिक रोजगार सम्बन्धी २४ लाख १० हजार ८७१ पोलिसी, आजीवन सम्बन्धी १ लाख ६९ हजार ५१५ पोलिसी, एकल बीमाशुल्क सम्बन्धी १ लाख १६ हजार ४२४ पोलिसी, म्यादी जीवन बीमा सम्बन्धी ३४ लाख ९४ हजार २३२ पोलिसी, लघु जीवन बीमा सम्बन्धी ५९ लाख २ हजार ३१६ पोलिसी र अन्य जीवन बीमा सम्बन्धी १ लाख २४ हजार २३५ वटा बीमा पोलिसी बेचिएका छन्।











