ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन, बिक्री–वितरण रोक्न विभागको निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गर्दै उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर टीएलएमएस–००६ को उक्त औषधि निर्धारित गुणस्तर मापदण्डअनुसार नभएको पुष्टि भएको हो। परीक्षण प्रतिवेदनपछि सो ब्याचको औषधिको बिक्री–वितरणमा रोक लगाइएको विभागले जनाएको छ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सम्बन्धित उद्योगलाई उक्त ब्याच नम्बरको औषधि तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण बन्द गर्न निर्देशन दिएको छ।
विभागले औषधि व्यवसायी, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई सोही ब्याच नम्बरको औषधि बिक्री–वितरण नगर्न तथा प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ।











