अब अर्थमन्त्रीले हरेक हप्ता पुँजीबजारको ब्रिफिङ लिने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई पुँजीबजारको अवस्थाबारे हरेक हप्ता ब्रिफिङ दिन निर्देशन दिएका छन्।
सोमबार अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारका योजनालाई स्पष्ट समयसीमासहित कार्यान्वयन गर्न र बजारमा लगानीकर्ताको आत्मविश्वास बढाउने गरी नियामकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे।
‘पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजामुखी काम गर्नुहोस्। मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।’
उनले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। म साथमा छु, सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्,’ उनले भने।











