शेयर कारोबारमा १ प्रतिशत शुल्क हल्लामात्र, नियमित कारोबारमा नयाँ कर नलाग्ने : हरि ढकाल

१५ असार २०८३, सोमबार १२:५४

काठमाडौं । प्रतिनिधिसभा सदस्य हरि ढकालले पछिल्लो समय ‘शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भन्ने विषयमा फैलिएको भ्रमप्रति ध्यानाकर्षण गराउँदै नियमित दोस्रो बजारको शेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने स्पष्ट पारेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले, “पछिल्लो समय ‘शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भनेर व्यापक बहस भइरहेको देखिएको छ। तर एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ। कारोबार व्यवस्थापन प्रणालीमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्दा ब्रोकरले १ प्रतिशत कर वा शुल्क लिने होइन। दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पूँजीगत लाभकर मात्रै हो, जुन ७ दशमलव ५ प्रतिशत वा १० प्रतिशत नै हो,” भनेका छन्।

उनले शेयर हस्तान्तरण शुल्कबारे स्पष्ट पार्दै, “कारोबार व्यवस्थापन प्रणालीमार्फत दैनिक हुने नियमित शेयर किनबेचमा १ प्रतिशत शुल्क लाग्दैन। १ प्रतिशत शुल्क भने २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट अर्थात् कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबारमा मात्र लाग्ने व्यवस्था हो। त्यसैले कारोबार व्यवस्थापन प्रणालीमार्फत नियमित कारोबार गर्ने लगानीकर्ताले १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने कुरा सही होइन,” उल्लेख गरेका छन्।

ढकालका अनुसार, “नियमित कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, धितोपत्र बोर्ड शुल्क, निक्षेप सदस्य शुल्क र पूँजीगत लाभकर मात्रै लाग्छ। यसमा कुनै नयाँ १ प्रतिशत शुल्क थपिएको छैन,”।

त्यस्तै अफ–मार्केट कारोबारबारे उनले, “यो व्यवस्था धितोपत्र बोर्ड वा नेपाल सरकारको नीतिअनुसार बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठूलो शेयर स्थानान्तरणलगायत निक्षेप तथा राफसाफ प्रणालीमार्फत सिधै हुने नामसारीमा मात्र लागू हुन्छ,” भनेका छन्।

“यस सम्बन्धमा अहिले फैलाइएको होहल्लाले लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना गरेको छ। हल्लाको पछि नलागौँ, आधिकारिक जानकारीका आधारमा सत्य र यथार्थ बुझेर मात्र निष्कर्ष निकालौँ। संयमित भएर कारोबार गरौँ, तथ्यमा विश्वास गरौँ,” भन्दै लगानीकर्तालाई आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*