प्राइम बैंकले अरुण खोला–२ जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । प्राइम बैंकले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जी प्रवर्द्धक रहेको २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत आयोजनामा वित्तीय लगानी गर्ने भएको छ। यसका लागि बैंक र कम्पनीबीच सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायण प्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आयोजनाको अनुमानित कुल लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ। यसमध्ये प्राइम बैंकले करिब ३० करोड रुपैयाँ ऋण लगानी गर्नेछ भने बाँकी रकम प्रवर्द्धक कम्पनीहरूले इक्विटीमार्फत व्यवस्थापन गर्नेछन्। परियोजनामा ऋण र स्वपुँजीको अनुपात क्रमशः ६१.६६ प्रतिशत र ३८.३४ प्रतिशत रहने जनाइएको छ।
कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३.१८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। त्यसमध्ये सुख्खायाममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।
आयोजनाको निर्माण कार्य सम्झौता भएको मितिबाट १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा स्वच्छ ऊर्जा थपिँदै विद्युत आपूर्तिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।











