सेबोन अध्यक्ष भट्टको पहिलो निर्णय: पूँजी बजारमा सम्पत्ति शुद्धीकरण सचेतना अभियान

१५ असार २०८३, सोमबार १८:२४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयका रूपमा पूँजी बजारका सबै सरोकारवालालाई लक्षित गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन्।

सोमबार बोर्डको कार्यालयमा पदबहाली गरेका अध्यक्ष भट्टले सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल (ब्रोकर) तथा अन्य बजार सहभागी संस्थालाई लक्षित गरी सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथाम सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।

पदभार ग्रहणका क्रममा बोर्डका कार्यकारी निर्देशकहरू रुपेश केसी, मुक्तिनाथ श्रेष्ठ, विनयदेव आचार्यलगायत कर्मचारीहरूले अध्यक्ष भट्टलाई स्वागत गरेका थिए।

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथपछि अर्थमन्त्रीले पूँजी बजारमा लगानीकर्ताको हित संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर निष्पक्ष र इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका थिए।

अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य दबाबबाट मुक्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै लगानीकर्ताको लगानी सुरक्षित बनाउने, बजारप्रतिको विश्वास बढाउने तथा पूँजी परिचालनमार्फत आर्थिक वृद्धिमा योगदान पुर्‍याउने दिशामा विशेष ध्यान दिनुपर्ने बताएका थिए। साथै बजारको अवस्था र प्रगतिबारे नियमित रूपमा सरकारलाई जानकारी गराउनुपर्ने आवश्यकता पनि उनले औँल्याएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*