भक्तपुरमा उत्पादित रायो सागमा भेटियो विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं । विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले असार १६ गते मंगलबार गरेको विषादी अवशेष परीक्षणको क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी हालेको भेटिएको छ।
एकाईले विभिन्न १२ थरीका तरकारीहरूमा विषादी अवेशष परीक्षण गरेकोमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा उत्पादित/प्रशोधित गरी कालिमाटीमा बेच्न राखिएको रायोको सागमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ८०.०१६० प्रतिशत भेटिएको हो।
यस्तो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग योग्य मानिन्छ भने ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भेटिएमा केही दिन राखेर पर्खन (क्वारेन्टिन) पर्ने हुन्छ तर ४५ प्रतिशतभन्दा बढी मात्रामा भेटिएमा विसर्जन (नष्ट) गर्नुपर्ने हुन्छ। सोही बमोजम उक्त विषादीयुक्त सागलाई नष्ट गर्न निर्देशन दिएको छ।












