रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु भएको छ।
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा रहेको उक्त आयोजनाले आवश्यक मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न गरेपछि असार १५ गतेदेखि पुनः विद्युत उत्पादन थालेको हो।
२०८२ असार २४ गते आएको भीषण हिमबाढीका कारण आयोजनाका अधिकांश संरचना तथा मेसिन उपकरणमा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि क्षतिग्रस्त संरचनाको आंशिक पुनःस्थापना तथा पुनर्निर्माण गरी तीनवटै युनिट सञ्चालनमा ल्याइएको थियो।
आगामी वर्षायाममा पनि पूर्ण क्षमतामा निर्बाध विद्युत उत्पादन सुनिश्चित गर्ने उद्देश्यले वर्षा सुरु हुनुअघि बाँकी मर्मत तथा पुनर्निर्माणका काम सम्पन्न गर्न २०८३ जेठ २६ गतेदेखि असार १४ गतेसम्म आयोजना पुनः बन्द (पावर प्लान्ट सटडाउन) गरिएको थियो।
उक्त अवधिमा आवश्यक सबै काम सम्पन्न भएपछि असार १५ गतेदेखि रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ।











