वर्षौँदेखि उठ्न नसकेको साढे ४२ करोड भाडा दुई सातामै असुल, ४५ उद्योगको विद्युत् लाइन काटियो

१६ असार २०८३, मंगलवार १३:११

काठमाडौं । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड ५४ लाख रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुली अभियानलाई तीव्र बनाएसँगै ठूलो रकम सङ्कलन हुन सफल भएको हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भइसकेको छ। मन्त्री यादवले वर्षौँदेखि उठ्न नसकेको भाडा तत्काल असुल गर्न निर्देशन दिएपछि लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रहेका उद्योग तथा कार्यालयलाई भुक्तानी गर्न आग्रह गरेको थियो।

लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार विसं २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा नतिरी बक्यौता राख्दै आएका थिए। केही दिनअघि ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना जारी गरिएकामा अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गरेका छन्।

बक्यौता असुलीलाई प्रभावकारी बनाउन मन्त्री यादवले तोकिएको समयभित्र भाडा नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्न निर्देशन दिएकी थिइन्। त्यसपछि लिमिटेडले सुरुमा २ सयभन्दा बढी उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो। भाडा चुक्ता गरेपछि अधिकांश उद्योगको लाइन पुनः जोडिएको भए पनि अझै बक्यौता नतिर्ने ४५ वटा उद्योग तथा कम्पनीको विद्युत् लाइन काटिएको अवस्थामा रहेको लिमिटेडले जनाएको छ।

मन्त्री यादवले बक्यौता रकम पूर्ण रूपमा चुक्ता नभएसम्म ती उद्योगहरूको विद्युत् आपूर्ति पुनः सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएकी छन्। यससँगै औद्योगिक क्षेत्रभित्र भाडा नतिर्ने उद्योगमाथि थप कडाइ गरिने संकेत पनि सरकारले दिएको छ।

बक्यौता धेरै रहेका उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिले करिब ३ करोड ६९ लाख रुपैयाँ भाडा तिर्न बाँकी रहेको छ भने सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी रहेको लिमिटेडले जनाएको छ। यी दुवै कम्पनीको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको पनि लिमिटेडले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*