लगातार सातौ दिन राताम्य बजारः अर्थमन्त्रीको पटक-पटकको धोकाले त्रसित लगानीकर्ता, मौद्रिक नीतिको आश !

१६ असार २०८३, मंगलवार १५:०६

काठमाडौँ । सात कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेपाली शेयर बजार अहिले मनोवैज्ञानिक दबाब, नीतिगत अन्योल र नियामकीय कडाइको त्रिपक्षीय प्रभावमा परेको छ । नेप्से परिसूचक लगातार घटिरहँदा लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको सम्पत्ति कागजी रूपमा घटेको छ भने दैनिक कारोबार रकमसमेत संकुचित हुँदै गएको छ । पछिल्ला केही सातायता बजारमा देखिएको गिरावटलाई सामान्य करेक्सनभन्दा पनि विश्वासको संकटसँग जोडेर हेरिन थालेको छ । बजार विश्लेषकहरूका अनुसार पूँजी बजारमा सकारात्मक संकेतभन्दा नकारात्मक हल्ला र अन्योलले बढी प्रभाव पार्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

यसबीच शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने भन्ने हल्लाले बजारमा ठूलो मनोवैज्ञानिक असर पारेको विश्लेषण गरिएको छ। सरकारले संसदमार्फत त्यस्तो कुनै नयाँ कर नलगाइने स्पष्ट पारिसकेको र सम्बन्धित निकायले पनि भ्रममा नपर्न आग्रह गरे पनि त्यसले बजारको धारणा परिवर्तन गर्न सकेन। बरु हल्लाले सिर्जना गरेको त्रासका कारण धेरै लगानीकर्ता नयाँ खरिदबाट पछि हटेका छन् भने केहीले जोखिम कम गर्न शेयर बिक्री बढाएका छन्। विगतमा सरकार परिवर्तन, अर्थमन्त्री नियुक्ति वा आर्थिक सुधारका संकेतले बजारमा उत्साह ल्याउने गरे पनि यसपटक विश्वासको संकटले सकारात्मक समाचारसमेत ओझेलमा परेको देखिएको छ।

बजारमाथि थप दबाब सिर्जना गर्ने अर्को कारण नियामकीय अनुसन्धान बनेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र बजारसँग सम्बन्धित कारोबारमाथि निगरानी तीव्र बनाएपछि ठूला लगानीकर्ता र सक्रिय कारोबारी समूहहरू सतर्क बनेका छन्। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार दैनिक ३० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ब्रोकर कम्पनीहरूको विवरण तथा तीमार्फत कारोबार गर्ने ठूला लगानीकर्ताको जानकारी संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ। समूहगत कारोबार, कृत्रिम मूल्य वृद्धि, इन्साइडर सूचनाको दुरुपयोग तथा अस्वाभाविक कारोबारको आशंकामाथि अनुसन्धान बढेपछि बजारमा जोखिम लिएर कारोबार गर्ने प्रवृत्ति कमजोर बनेको विश्लेषण गरिएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पूँजी बजारलाई सकारात्मक सन्देश दिने प्रयास गरे पनि त्यसअनुसारका ठोस कानुनी तथा नीतिगत सुधार अघि बढ्न नसक्दा लगानीकर्ताको अन्योल हट्न सकेको छैन। निजी क्षेत्रको मनोबल बढाउने, पूँजी बजारलाई व्यवस्थित बनाउने र लगानी विस्तारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि कार्यान्वयनमा ढिलाइ भएको गुनासो बढ्दो छ। विभिन्न सरकारी निकायबाट फरक–फरक धारणा सार्वजनिक हुनु, नियामकबाट स्पष्ट मार्गदर्शन नआउनु तथा बजारसँग सम्बन्धित निर्णयमा ढिलाइ भइरहनुले लगानीकर्ताको विश्वास थप कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ।

असार मसान्त नजिकिँदै जाँदा देखिएको वित्तीय दबाबले पनि बजारलाई थप प्रभावित गरेको छ। बैंक तथा वित्तीय संस्थासँगको कर्जा समायोजन, मार्जिन कर्जा व्यवस्थापन, हिसाब मिलान तथा अन्य वित्तीय दायित्व पूरा गर्न धेरै लगानीकर्ताले शेयर बिक्री बढाएका छन्। हरेक वर्ष असार मसान्तमा यस्तो प्रवृत्ति देखिए पनि यसपटक बजारलाई उकास्ने कुनै बलियो सकारात्मक उत्प्रेरक नदेखिएकाले बिक्री चाप अझ तीव्र बनेको छ। खरिदकर्ता सीमित हुँदा अधिकांश कम्पनीको शेयर मूल्य निरन्तर घटिरहेको छ भने कारोबार रकम पनि उल्लेख्य रूपमा खुम्चिएको अवस्था छ।

यस्तो परिस्थितिमा अब सम्पूर्ण बजारको ध्यान नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आगामी मौद्रिक नीतिमा केन्द्रित भएको छ। विशेषगरी शेयर धितो कर्जाको सीमा, तरलता व्यवस्थापन, ब्याजदरको दिशा, पूँजी बजारसँग सम्बन्धित कर्जा नीति तथा लगानीमैत्री व्यवस्थाबारे राष्ट्र बैंकले कस्तो नीति ल्याउँछ भन्ने विषय अहिले लगानीकर्ताको मुख्य चासो बनेको छ। आम लगानीकर्ताले बजारलाई चलायमान बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा वित्तीय प्रणालीमा पर्याप्त तरलता कायम गर्ने किसिमको बलियो मौद्रिक नीति आउने अपेक्षा गरेका छन्। तर अपेक्षाअनुसारको नीति नआए बजार थप दबाबमा जाने र लगानीकर्ताको मनोबल अझ कमजोर हुने आकलन बजार वृत्तमा व्यापक रूपमा भइरहेको छ।

बजार विश्लेषकहरूका अनुसार अहिलेको चुनौती नेप्से घट्नु वा कारोबार रकम कम हुनु मात्र होइन, लगानीकर्ताको विश्वास कमजोर हुनु नै सबैभन्दा ठूलो समस्या हो। हल्ला, नियामकीय अनुसन्धान, नीतिगत अन्योल, असार मसान्तको वित्तीय दबाब र मौद्रिक नीतिप्रतिको प्रतीक्षाले बजारलाई एकैपटक प्रभावित गरिरहेका छन्। उनीहरूका अनुसार सरकार, नेपाल राष्ट्र बैंक र नियामक निकायबीच प्रभावकारी समन्वय, स्थिर तथा पूर्वानुमानयोग्य नीति, पारदर्शी नियमन र लगानीकर्तामा विश्वास जगाउने स्पष्ट सन्देश दिन सकिए मात्रै बजार पुनः लयमा फर्किन सक्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.६३ अकंले घटेर २६०८.३३ बिन्दुमा कायम भएको छ । आज ३६५ कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको १ प्रतिशत, जलविद्युत समूहको १.४३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन ३५ कम्पनीको शेयर मूल्य घटेको छ भने २३५ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*