१५ लाख जरिवाना तोकिएका बैंकिङ कसुरका फरार प्रतिवादी चाबहिलबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–६, जोरपाटी बस्दै आएका ५१ वर्षीय निमा लामा शेर्पा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–७, चाबहिलबाट पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंले २०७९ माघ ६ गते गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा शेर्पालाई पाँच दिन कैद सजाय तथा १५ लाख १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसला भएपछि उनी फरार रहँदै आएका थिए।
प्रहरीले पक्राउ परेका शेर्पालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको जनाएको छ।











