११ महिनामा जीवन र निर्जीवन बीमकले दिए ९३ अर्ब रुपैयाँ दाबी भुक्तानी, १ लाख ७८ हजार दाबी अझै बाँकी

१६ असार २०८३, मंगलवार १७:२३

काठमाडौँ । बीमा कम्पनीहरुले ११ महिनामा झण्डै ९३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट ९२ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका हुन् ।

बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २७.४६ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले अघिल्लो वर्षको जेठ मसान्तसम्ममा ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीबाट २ लाख ६५ हजार २०४ वटा दाबीको ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो वर्ष सोहि अवधिसम्म जीवन बीमा कम्पनीहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

समिक्षा अवधिमा निर्जीवन बीमकले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १० लाख रुपैयाँ भुक्तानी गरेका छन् । उक्त भुक्तानी गत वर्षको सोही अवधिसम्म १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड गरेका थिए ।

अझै साढे ४९ अर्ब दाबी दिन बाँकी

चालु आर्थिक वर्षको ११ महिनासम्ममा बीमा कम्पनीहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको देखिएको छ । बीमा कम्पनीहरुले अझै १ लाख ७८ हजार १३६ दाबी भुक्तानी गर्ने बाँकी रहेको हो ।

यसअवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ जार रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५४ हजार ४२२ दाबी संख्याको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट १ लाख १७ हजार १८२ दाबी संख्या बापतको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*