भाखा नाघेका ऋणीलाई मानुषी लघुवित्तको अन्तिम आह्वान, कर्जा चुक्ता नगरे कानुनी कारबाही

१६ असार २०८३, मंगलवार १८:०५

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले लामो समयदेखि साँवा, ब्याज तथा अन्य दायित्व भुक्तानी नगरी भाखा नाघेका सदस्यहरूलाई २०८३ साल असार मसान्तभित्र कर्जा नियमित गर्न वा संस्थासँग समन्वय गरी उपयुक्त समाधानको विकल्प अपनाउन आग्रह गरेको छ।

संस्थाले सार्वजनिक सूचना जारी गर्दै विभिन्न कारणले कर्जा भुक्तानी गर्न नसकेका सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्थाप्रति आफू संवेदनशील र जिम्मेवार रहेको जनाएको छ। कर्जा असुलीलाई मात्र प्राथमिकता नदिई सदस्यहरूको वास्तविक समस्या बुझ्ने, प्रत्यक्ष छलफल गर्ने तथा पुनःतालिकीकरण (Rescheduling), किस्ता समायोजन, आंशिक भुक्तानी र चरणबद्ध भुक्तानीलगायतका व्यवहारिक विकल्पमार्फत समाधान खोज्ने प्रयास निरन्तर गरिएको पनि संस्थाले उल्लेख गरेको छ।

तर, पटक–पटक सम्पर्क, छलफल तथा सहजीकरणका प्रयासका बाबजुद केही सदस्यले संस्थासँग कुनै समन्वय नगरी कर्जा चुक्ता गर्ने विषयमा बेवास्ता तथा अटेर गरेको अवस्था देखिएकाले प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको संस्थाले जनाएको छ।

सूचनाअनुसार लामो समयदेखि भाखा नाघी सम्पर्कविहीन तथा अटेर गर्ने सदस्यहरूको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्ने प्रक्रिया सुरु गरिएको छ। त्यस्तै, पत्रिकामा नाम प्रकाशित भइसकेका सदस्यहरूको विवरण कर्जा सूचना केन्द्रमा पठाई कालोसूचीमा समावेश गर्ने प्रक्रिया पनि अघि बढाइएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएपछि सम्बन्धित सदस्यले भविष्यमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा, जमानत तथा अन्य वित्तीय सुविधा प्राप्त गर्न कठिनाइ व्यहोर्नुपर्ने हुन सक्छ। त्यसैले यस विषयमा सदस्यहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।

यस्तै, आवश्यकताअनुसार धितो लिलाम, कर्जा असुलउपर तथा प्रचलित कानुनबमोजिम अन्य कानुनी कारबाहीको प्रक्रिया समेत अघि बढाइने संस्थाले स्पष्ट पारेको छ।

मानुषी लघुवित्तले भाखा नाघेका सम्पूर्ण सदस्यलाई २०८३ साल असार मसान्तभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी बाँकी रहेको साँवा, ब्याज तथा अन्य दायित्व चुक्ता गर्न वा आफ्नो वास्तविक अवस्था जानकारी गराई संस्थासँग समन्वय गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*