बर्ड फ्लूले बागमतीमा बढायो संकट, पाँच जिल्लामा २ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौं । बागमती प्रदेशका पाँच जिल्लामा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदा दुई लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ। सम्बन्धित निकायका अनुसार संक्रमण नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएपछि प्रभावित क्षेत्रका फार्ममा रहेका कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियानलाई तीव्र बनाइएको छ।
प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गत चैत ११ गतेदेखि हालसम्म यी जिल्लामा २ लाख ८ हजार २५२ वटा पन्छी, ५ लाख ५ वटा अण्डा तथा ८८ हजार ६ सय केजी दाना नष्ट गरिएको छ।
निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार सबैभन्दा पछिल्लो समय चितवन र काभ्रेका विभिन्न स्थानीय तहमा संक्रमण देखिएको छ। चितवनको खैरहनी नगरपालिका–१ स्थित फार्ममा ३८ हजार २ सय कुखुरा, २ लाख ९५ हजार ५० वटा अण्डा र १२ हजार केजी दाना नष्ट गरिएको छ। त्यस्तै भरतपुर महानगरपालिका–४ मा रहेको अर्को फार्मबाट १८ हजार ८६३ कुखुरा, ५५ हजार ४४० वटा अण्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको छ।
काभ्रेमा पनि संक्रमण फैलिएको पुष्टि भएको छ। बनेपा नगरपालिका–६ मा ५ हजार २१ कुखुरा र १ हजार ५ सय अण्डा नष्ट गरिएको छ भने बनेपा–१३ मा १ हजार ४५७ कुखुरा, २ हजार ८ सय अण्डा र १ हजार २५० केजी दाना नष्ट गरिएको निर्देशनालयले जनाएको छ। पनौती नगरपालिका–९ मा रहेको फार्मबाट ९ हजार ३९१ कुखुरा, ५ सय अण्डा र ५ सय केजी दाना नष्ट गरिएको छ। पनौती–७ मा रहेको अर्को फार्ममा २७९ कुखुरा, १६ वटा अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै १ लाख ३५ हजार ४१ वटा कुखुरा नष्ट गरिएको तथ्यांक निर्देशनालयसँग छ। साथै १ लाख ४४ हजार ७४४ वटा अण्डा र ६१ हजार ७५० केजी दाना पनि नष्ट गरिएको छ।
डा. घिमिरेका अनुसार बागमतीका अन्य जिल्लामा हालसम्म बर्ड फ्लू संक्रमण पुष्टि नभए पनि संक्रमण देखिएका पाँच जिल्लामा अवस्था गम्भीर बन्दै गएको छ। उनका अनुसार हरेक दिन फरक–फरक व्यावसायिक फार्ममा संक्रमण पुष्टि भइरहेकाले नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।
संक्रमण फैलिन नदिन प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा जिल्लास्थित पशु सेवा कार्यालयहरूले संयुक्त रूपमा प्रभावित फार्मका पन्छी नष्ट गर्ने, क्षतिको विवरण संकलन गर्ने, प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने तथा जैविक सुरक्षाका उपाय कार्यान्वयन गर्ने कामलाई निरन्तरता दिएका छन्।











