जर्मनीद्वारा पासपोर्ट खरिद प्रकरणबारे स्पष्टीकरणः नेपाललाई विरोधपत्र वा चेतावनी दिइएको छैन

१७ असार २०८३, बुधबार १०:५२

काठमाडौं । पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएका दाबी भ्रामक र गलत भएको भन्दै जर्मनीले औपचारिक रूपमा स्पष्टीकरण दिएको छ। जर्मनीले सार्वजनिक भएका केही विवरण तथ्यसँग मेल नखाने भन्दै वास्तविक अवस्था प्रस्ट पारेको हो।

जर्मको बर्लिनस्थित कार्यवाहक नेपाली राजदूतलाई जर्मनीको संघीय विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिएको र चेतावनी दिइएको भनेर सामाजिक सञ्जालमा फैलिएपछि उक्त विषयमा काठमाडौंस्थित जर्मन दूतावासले स्पष्टीकरण दिएको हो।

जर्मन दूतावासले बर्लिनस्थित कार्यवाहक नेपाली राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा केवल भेटघाटका लागि मात्रै बोलाइएको र कुनै स्पष्टीकरण नसोधिएको जनाएको छ। कूटनीतिक अभ्यासमा समन र भेटका लागि निमन्त्रणा बीच स्पष्ट भिन्नता हुने भएकाले त्यसलाई गलत रूपमा व्याख्या गर्नु उपयुक्त नहुने जर्मनीको भनाइ छ।

त्यस्तै उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै पनि प्रकारको विरोधपत्र, चेतावनी वा अन्य कुनै औपचारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि जर्मनीले स्पष्ट गरेको छ। यसका साथै पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित न्यायिक प्रक्रियाको परिणामका आधारमा कुनै सम्भावित असर वा परिणामबारे चेतावनीसमेत नदिइएको जर्मनीले स्पष्ट पारेको छ।

जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै जारी अदालतको प्रक्रियामा कुनै टिप्पणी नगर्ने सिद्धान्तमा आफू प्रतिबद्ध रहेको जनाएको छ। सोही सिद्धान्तअनुसार यस प्रकरणमा पनि जर्मन दूतावासले कुनै पनि चरणमा अदालतमा विचाराधीन विषयमा टिप्पणी नगरेको स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*