धितोपत्र बजार सुधारको मार्गचित्र आगामी साता सार्वजनिक हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा देखिएका समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित पुँजी बजार विकासको विस्तृत मार्गचित्र सार्वजनिक गर्ने जनाएको छ।
बोर्डले आज असार २५ गते विज्ञप्तिमार्फत् हाल धितोपत्र बजारमा देखिएका समस्या र लगानीकर्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक गृहकार्य भइरहेको जनाएको छ। सार्वजनिक गरिने मार्गचित्र तत्काल कार्यान्वयनमा लगिने पनि बोर्डले स्पष्ट पारेको छ।
बोर्डका अनुसार अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनसहित बजारसँग सम्बन्धित विषयमा दिइएका निर्देशन समयमै कार्यान्वयन गराउन पहल भइरहेको छ। साथै थप स्वस्थ, सुरक्षित र प्रभावकारी पुँजी बजारको वातावरण निर्माण गर्न सार्वजनिक निष्काशन प्रक्रिया तथा नियमन प्रणालीलाई थप व्यवस्थित बनाइने जनाइएको छ।
यसका लागि विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, अन्य सम्बन्धित नियमावली तथा सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालगायत कानुनी व्यवस्थाको समसामयिक पुनरावलोकन गर्ने प्रक्रिया सुरु भइसकेको बोर्डले जनाएको छ।
बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उल्लेख गर्दै बजारमा फैलाइने हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न आग्रह गरेको छ। लगानीकर्तालाई आफ्नो अध्ययन, विश्लेषण र जोखिम वहन क्षमताको मूल्यांकन गरेर मात्रै लगानीसम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ।












