ऊर्जा उद्यमीको आवाज सुन्दै बालेन शाह, आज सिंहदरबारमा छलफल

२६ असार २०८३, शुक्रबार १०:३६

काठमाडौँ । वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती र तिनको समाधानका उपायबारे विस्तृत संवाद हुने बताइएको छ।

बुधवारदेखि उद्योगी–व्यवसायीसँग निरन्तर भेटघाट गर्दै आएका शाहले यसैक्रममा ऊर्जा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न लागेका हुन्।

शाहले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफलका लागि सिंहदरबारमा आमन्त्रण गरेको एक ऊर्जा उद्यमीले जानकारी दिए। उनका अनुसार छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की तथा वरिष्ठ उपाध्यक्ष उत्तम लामालगायतको सहभागिता रहनेछ।

छलफलमा ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्यासहित लगानी, विद्युत् उत्पादन, प्रसारण र निजी क्षेत्रका सरोकारका विषयमा समेत विचारविमर्श हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*